काठमाडौँ । प्रजातान्त्रिक विचार समाज केन्द्रीय कार्यालयले समाजको अस्ट्रेलिया शाखालाई तदर्थ समिति गठन गर्न अनुमति दिएको छ । समाजको पुष १० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले डा. ज्ञानेन्द्र रेग्मी संयोजक रहेको समाजको अस्ट्रेलिया शाखालाई बिस्तार गर्न अनुमति दिएको हो । गत कार्तिकमा संस्थाका केन्द्रीय उपाध्यक्ष कृष्ण के. सी.को उपस्थिति र संस्थाका पूर्व सल्लाहकार एवं वरिष्ठ पत्रकार कबीर राणाको प्रमुख आतिथ्यमा भएको बुद्धिजीवीहरूको भेलाले रेग्मीलाई संयोजक चयन गरेको थियो ।
संस्थाका केन्द्रीय महासचिव डा. वासुदेव भण्डारीद्वारा प्रेषित पत्रमा संस्थाको विधानको धारा १६ (ट)को व्यवस्थालाई व्याख्या गरी हाललाई समाजको तदर्थ शाखा गठन गर्नका लागि अनुमति प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ । पत्रमा प्रजातन्त्रमा निष्ठा राख्ने शिक्षा, चिकित्सा, इन्जिनियरिङ, सञ्चार, कानुन, विज्ञान र प्रविधि, साहित्य–कला र अनुसन्धान तथा बौद्धिक परामर्शजस्ता विषय क्षेत्रका व्यक्तिहरूलाई सदस्यता प्रदान गरी तदर्थ कार्यसमिति गठन गरी समाजको उद्देश्यबमोजिमका कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।
प्रतिक्रिया