काठमाडौं । सांसदहरुले बालकुमारी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै गृहमन्त्री र प्रधानमन्त्रीको राजिनामाको माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सांसदहरुले वर्तमान सरकार असक्षम भएको टिप्पणी गरेका हुन् ।
एमाले सांसद कृष्ण गोपाल श्रेष्ठले बालकुमारी घटना सरकारबाट गरिएको हत्या भएको बताए । उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा उनले जोड दिए । सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिए । उनले युवाले विदेश गएर काम गर्छु भन्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिएर कसले दिन्छ भन्दै प्रश्न गरे । मन्त्री श्रेष्ठले तत्काल राजीनामा दिएपछि समस्या समाधान हुने भन्दै उनले प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठाए । अर्का सांसद रघुजी पन्तले सरकारको गल्तीबाट अनाहकमा युवाहरू मारिएको भन्दै बालकुमारी घटनामा सरकारले घोषणा गरेको क्षतिपूर्ति कम भएकाले बढाउनुपर्ने बताए ।
रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताए । उनले उच्च राजनीतिक नैतिकताको अपेक्षा गर्दै बालकुमारी घटनामा पूर्व सूचना हुँदाहुँदै पनि गृहप्रशासनले लापरबाही गरेको बताए ।गृहमन्त्री श्रेष्ठप्रति आक्रामक रुपमा प्रस्तुत भएका लामिछानेले संविधानको मर्म विपरीत राष्ट्रियसभामा आएको र गृह मन्त्रालयका लागि मरिहत्ते गरेको बताए । आफूप्रति प्रतिशोध राखेको उनको आरोप छ । रास्वपाकी सांसद चन्दा कार्कीले बालकुमारी घटनामा किन सिधै गोली हानियो भन्ने प्रश्न गरिन् । उनले राज्यको गल्तीले दुईजनाको ज्यान गएको उल्लेख गरिन् । उनले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा नदिएसम्म मृतकको आत्माले शान्ति नपाउने बभनाई राखेकि थिइन् ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनाका मुख्य तीन कारण प्रस्तुत गरेका थिए । उनले तनावग्रस्त क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रवेशलाई मुख्य कारणका रूपमा प्रस्तुत गरे । घटनाको अर्को कारण ‘१८ जनालाई मात्र आवेदन गर्न दिनू’ भन्ने अदालतको आदेश भएको उनले बताए । अर्को ईपीएस कार्यालयको विवेकसम्मत निर्णय नहुँदा घटना घटेको उनको भनाई थियो ।
नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रहरीले बल प्रयोग नगरेको अवस्थामा थप गम्भीर घटना निम्तन सक्ने बताए । उनले घटनास्थलको अवस्थाको बारेमा मन्त्रीको पीएसओले समेत समन्वय नगरेको बताए । उनले विषम परिस्थितमा बल प्रयोग भएको र प्रहरीले अलिकति धैर्यता गुमाएको अवस्था भएको बताए । उनले प्रदर्शन कुनै पनि नेतृत्वमा नभएका कारण सोचेभन्दा फरक अवस्था रहेको बताएका थिए ।
प्रतिक्रिया