काठमाडौं । एक वर्षभन्दा बढी समयदेखि अदालतमा विचाराधीन बलात्कार मुद्दामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नियमित सदस्य सन्दीप लामिछाने अन्ततः अदालतबाट दोषी ठहर भएका छन् । गत वर्षको भदौ ५ गते सन्दीपले बलात्कार गरेको भन्दै गौशाला २६ (परिवर्तित नाम)ले उनीविरुद्ध गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । उनीविरुद्ध भदौ २१ गते उजुरी परेको थियो । उजुरी पर्दा क्यारेबियन प्रिमियर लिग सिपएल खेल्न वेस्टइन्डिजमा रहेका थिए । उजुरी पर्नासाथ केही समय फरार रहेका सन्दीपले काठमाडौं आएर आत्मसमर्पण गर्ने बताएका थिए । उनलाई नेपाल प्रहरीले असोज २० गते विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरी हिरासतमा रहेका उनलाई जिल्ला अदालतले गत वर्षको कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि सन्दीपले जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा पुनरावेदन दिएका थिए । पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सर्तसहित रिहा गरेको थियो ।
सर्तअनुसार उनले काठमाडौं छाड्न परे पनि प्रहरीलाई खबर गर्ने र विदेश जान नपाउने आदेश थियो । उच्च अदालतको आदेशपछि महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए । क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो ।
सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ राखेर सुनुवाइ थालेको सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर अर्को आदेश दिन पुग्यो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो । त्यसयता उनी विदेश गएर प्रतियोगिता खेल्न पाए भने काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइका लागि पटकपटक पेशी तोकिए पनि बहस नै प्रारम्भ नहुँदा अल्झिएको थियो ।
बुधबारदेखि भने काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर अन्तिम बहस पछि शुक्रबार फैसला आएको हो । सन्दीप अदालतबाट बलात्कारमा दोषी ठहर भएको र सजाय निर्धारणका लागि आगामी २५ पुसमा पेसी तोक्न आदेश आएको छ । सजाय निर्धारण भएपछि सन्दीपलाई बाहिरै बसेर मुद्दा लड्ने सुविधा रहेकाले माथिल्लो अदालतबाट उन्मुक्ति पाउने सम्भावना पनि उत्तिकै रहेको छ ।
न्यायाधीश ढकालले आदेशमा गौशाला २६ घटनाका बेलामा बालिग भएको उल्लेख गरेका छन् । २ पेजको संक्षिप्त आदेश सुनाउँदै जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाई सन्दीप लामिछानेले बलात्कार गरेको ठहरिएको बताए ।
उनले फैसला सार्वजनिक गर्दै भने ‘उनको नाजुक आर्थिक अवस्थाको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकोले सन्दीप लामिछानेले अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम कसुर गरेको ठहर्छ’, आदेशबारे उनले भने, ‘सजाय निर्धारणका लागि पुस २५ गतेका लागि पेसी तोक्नू । दुवै पक्षबाट सजायपूर्वको प्रतिवेदन र क्षतिपूर्तिको आधारसमेत पेस गर्न लगाउनू ।’
न्यायाधीश ढकालले आदेशमा पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरूको घटना विवरण कागज, निजहरूको बकपत्र लगायत सीसीटीभी फुटेजबाट काठमाडौंदेखि नगरकोट गई पुनः काठमाडौं आएर होटलको एउटै कोठामा बसेको देखिएको निष्कर्ष छ ।
पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दीपको क्रियाकलाप समेतलाई विचार गर्दा सन्दीप र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतिको भन्न नमिल्ने ठहर भएको हो ।
तर न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका छन् । विभिन्न निकायको पत्र र कागजात प्रमाणबाट २०६१ असार १८ गते जन्म भएकाले घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै नाबालिकामाथि बलात्कार भएको आरोप स्थापित हुन नसक्ने ठहर गरेका हुन् । न्यायाधीश ढकालले आदेशमा अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)(घ)को अभियोग स्थापित नहुने भनेका छन् । दफा २१९(१),(२),(३)(घ) मा १६ वर्षदेखि १८ वर्षसम्मको नाबालिका बलात्कारमा १० देखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ ।
जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपमा दोषी ठहर गरे पनि पीडितको उमेर बढाएर उनलाई बालिग ठहर गरिदिएको छ । आरोपपत्रमा पीडित १६ वर्षभन्दा माथि तर १८ वर्षभन्दा मुनिको किशोरी भएकाले १० वर्षदेखि १२ वर्षसम्मको सजाय हुनुपर्ने मागदाबी रहेको थियो । न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहरसहित सन्दीपलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)(ङ) अनुसार कसुरदार ठहर गरेको हो । उक्त कानुन व्यवस्था(दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म मात्रै कैद सजाय हुने व्यवस्था छ ।
जिल्ला अदालतले सन्दीपमाथि सजाय अनि उनले तिर्नुपर्ने क्षतिपूर्ति निर्धारणका लागि २५ पुसमा अर्को सुनुवाइको मिति तोकेको छ । त्यो दिन दुवै पक्षले सजायपूर्वको प्रतिवेदन र क्षतिपूर्तिको आधारसमेत पेस गर्नु पर्नेछ । जिल्ला अदालतले २५ पुसमा यो मुद्दाको सबै सुनुवाइ टुंग्याउनेछ । फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुवै पक्षले उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउनेछन् ।
५ भदौ, २०७५ मा प्रशिक्षणका क्रममा बन्दसत्रमा रहेका क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित (गौशाला २६) लाई भेटेका थिए । सन्दीपले पीडितलाई नगरकोट लगेर फर्किएपछि सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको जाहेरीपछि प्रहरीले सन्दीपविरुद्ध अनुसन्धान थालेको थियो ।
प्रतिक्रिया