देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्द्रमानको इन्ट्रीले एन्फाभित्र रडाको

देशान्तर


काठमाडौं । कर्माछिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष हुँदा महासचिव भएर राम्रै तर मारेका इन्द्रमान तुलाधर एकाएक क्याम्प परिवर्तन गरेर सीईओ (कार्यकारी अधिकृत) भएर आएपछि नेपाली फुटबलभित्रको विवाद थप छताछुल्ल भएको छ ।
कर्मालाई अन्तिमसम्म साथ दिए पनि पंकजविक्रम नेम्बाङले चुनाव जित्दा इन्द्रमानहरू फुटबलको हर्ताकर्ताबाट हात धुन पुगेका थिए । नेपाली फुटबलभित्र अस्थिर चरित्र बनाएका इन्द्रमान विगतमा गणेश थापासँग मिलेर राम्रो तर मारेका व्यक्ति हुन् । पद र शक्तिको पछाडि लागिहाल्ने प्रवृत्ति भएकै कारण पंकज नेतृत्वमा आएपछि कर्मासहित गोलबद्ध भएर एन्फाविरुद्ध गतिविधि गरे पनि इन्द्रमान कुनै दिन अहिलेको संस्थापनसँग मिलिहाल्छन् भन्ने फुटबल बुझेका नजिकका व्यक्तिहरूले भन्ने गरेको कुरालाई प्रमाणित गरिदिएका छन् ।


कर्मालाई उक्साएर अध्यक्ष पंकजविक्रम नेम्बाङविरुद्ध विशेष अधिवेशन बोलाएर हटाउने भन्दै निवेदन हालेका इन्द्रमान हेटौंडामा विशेष अधिवेशन हुँदा भोट नै नहालेर बाहिरिएका थिए भने उक्त विशेष अधिवेशनपछि पंकजले सहजै दुई तिहाइ बहुमत ल्याएका थिए । ८७ सदस्यीय एन्फाका साधारण सदस्यमा ४९ जनाको हस्ताक्षरले साधारणसभा बोलाइए पनि त्यो संख्या फुटाउनका लागि पंकजले त्यतिबेलै गोप्य रूपमा बार्गेनिङ गरेको बुझिएको थियो । त्यतिबेलाकै सहमतिअनुसार संकटा क्लबका अध्यक्षसमेत रहेका इन्द्रमान महासचिव भइसकेको व्यक्ति महासचिवको अन्डरमा रहेर काम गर्ने कर्मचारीको रूपमा एन्फाभित्र भित्रिएका हुन् । उनी मासिक १ लाख २५ हजार तलब खाने कर्मचारीको रूपमा भित्रिएपछि अहिले एन्फाभित्रै रहेको संस्थापनभित्र भने फुट आएको छ ।


एन्फाको सोमबार बसेको कार्यसमितिले इन्द्रमानलाई सीईओ बनाउने निर्णय गर्दा अधिकांश सदस्यहरूले विरोध गर्दा अध्यक्ष पंकजले बहुमतको आधारमा निर्णय गरेका थिए । उनको नियुक्तिको विषयमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित ९ जनाले विरोध गर्दा बहुमतका आधारमा निर्णय भएको थियो ।
त्यसको भोलिपल्टै असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्दै आफूहरूले इन्द्रमानलाई सीईओ नमान्ने घोषणा गरिसकेका छन् । उनीहरूले अध्यक्ष नेम्बाङ अल्पमत बहुमतका आधारमा संस्था सञ्चालनको मोडेलमा पुगेकाले आफूहरूले नमान्ने बताएका थिए ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले अवैधानिक रूपले एन्फा सञ्चालन गर्न खोजेको आरोप लगाउँदै कानुन समितिका संयोजक अनिल मल्ल र पदपूर्ति समितिका संयोजक विराटजंग शाहीले राजीनामा दिइसकेका छन् । एन्फाले भागबन्डा मिलाउन सहकोषाध्यक्षमा नुवाकोट प्रतिनिधि पूर्णमान चित्रकारको ठाउँमा प्रवीण यादवलाई ल्याएको छ । महासचिव पदपूर्ति समितिमा रहे पनि कसैलाई नियुक्त गर्न नमिल्ने एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले बताए । ‘पदपूर्ति समितिमा महासचिव भएपछि आफ्नो मान्छे नियुक्त गर्न पाइन्छ भनेर बस्नु भएको छ, महासचिव सदस्य हुन पाउँछ तर, संयोजक हुन पाउँदैन,’ वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘त्यसैले यो नियुक्ति वैधानिक छैन ।’ कार्यसमिति बैठकले एन्फा विधानविपरीत कार्य गरेको भन्दै थप अनुसन्धान र छानबिन गर्न अनुसान कमिटीमा पठाउने र अन्तिम निर्णय आउँदासम्मका लागि फुटबल गतिविधिमा संलग्न नगराइने निर्णय गरेको थियो ।


वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यहरू रूपेश अधिकारी, अनिल मल्ल, पेमा डोल्मा लामा, रवीन्द्र चन्द, रमेश व्यञ्जनकार र भोजराज शाहीले असन्तुष्टि जनाउँदै हस्ताक्षर गरेका छन् । वरिष्ठ उपाध्यक्ष खड्काले नियुक्तिका बारेमा खेलकुद परिषद् र खेलकुद मन्त्रालयमा उजुरी दिने र त्यहाँबाट पनि सम्बोधन नभए अदालत जाने चेतावनी दिएका छन । मध्यपुर युथ एसोसिएसनमाथिको निलम्बन फुकुवा गर्नुपर्ने नौ सदस्यहरूले राखेका छन्  । एन्फा बैठकले विधानविपरीत कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्म मध्यपुरलाई फुटबलका गतिविधिमा सहभागी हुन नदिने निर्णय गरेको थियो ।


ए’ डिभिजन क्लब संकटाका अध्यक्षसमेत रहेका तुलाधरले गत २५ भदौमा एन्फाका अध्यक्ष नेम्बाङ र महासचिव राई निलम्बनमा परेको घोषणा गरेका थिए । उनले एन्फाका ८७ मध्ये ४९ सदस्यको हस्ताक्षरसहित अध्यक्ष र महासचिवको बर्खास्त गर्न १९ आरोपसहित वरिष्ठ उपाध्यक्ष खड्कालाई निवेदन बुझाएका थिए । ‘यो नेतृत्व खत्तम भयो, विधानसम्मत कुनै कार्य भएन, हामीले अविश्वासको प्रस्ताव इमेल गरेका छौँ,’ त्यसबेला तुलाधरले भनेका थिए, ‘ईमेल गरेसँगै अध्यक्ष र र महासचिव निलम्बन भइसक्नुभयो  ।’ पूर्वअध्यक्ष शेर्पासँगै तुलाधरलगायतले अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव फेस गरेपछि एन्फाले २३ कात्तिकमा मकवानपुरमा विशेष साधारणसभा आह्वान गरेको थियो । तुलाधरले एक्कासि ‘यु टर्न’ गर्दै नेम्बाङ पक्षसँग सहकार्य गर्ने वाचा गरे । तुलाधरको यसै निर्णयसँगै नेम्बाङले आफूविरुद्धको अविश्वासको प्रस्ताव प्रतिरक्षा गर्न सफल भएका थिए ।