विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने स्पष्ट पारेका छन । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने– म तपाईंहरूलाई के विश्वास दिलाउन चाहन्छु भने कि मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।
उनले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिबद्धता पनि प्रकट गरे । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको बताए । उनले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकतामा जोड दिए । स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । “सूचना प्रविधिलाई सहज र सरल नीतिगत आधार तयार गरिदिने हो भने व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निभाउन सक्ने स्थिति छ”, उनले भने ।
राष्ट्रपति पौडेलले भने, “मैले यहाँ भन्नै पर्दछ, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै, वातावरण संरक्षणका साथ हरित अर्थतन्त्र र दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तह निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा अगाडि बढ्नु पर्दछ ।”
नेपालमा कृषि क्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन भन्दै राष्ट्रपति पौडेलले त्यसैले निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव छ भनेका थिए । “सार्वजनिक निजी साझेदारीलाई थप व्यापक र प्रभावकारी बनाउन आवश्यक छ”, उनले भने ।
स्वदेशमै, गाउँघरमा सम्मानजनक रोजगारी र आम्दानीको सिर्जना नहुँदा सारा जनशक्ति बिदेसिएर आज हाम्रा गाउँघर रित्तिँदै छन् भन्दै उहाँले यो स्थितिलाई रोक्नका लागि हाम्रो कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गर्नुपर्ने आवश्यकता पनि औंल्याएका थिए ।
“साथै विदेशी ठूला कम्पनीहरूसँग सहकार्य गरी विकसित देशहरूबाट उद्योगधन्दा ल्याई स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्नेतिर हामी लागौं । यसको नेतृत्व हाम्रा तपाईं उद्योगपति र व्यापारीहरूले नै गर्नुपर्ने आवश्यकता छ”, राष्ट्रपति पौडेलले भने ।
“कुल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरूको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ”, राष्ट्रपति पौडेलले भनेका थिए ।
“कोभिड–१९ महामारीको प्रभावस्वरूप अर्थतन्त्र शिथिल भएको अवस्थामा पनि पुनरुत्थान गर्न सरकारले चालेका कदमले केही सकारात्मक प्रभाव अवश्य परेकै छ, तर जसरी आन्तरिक अर्थतन्त्र चलायमान हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन । फलस्वरूप, रोजगारी सिर्जनालगायत आन्तरिक उत्पादनमा वृद्धि भई निर्यात बढ्न सकेको छैन भने राजस्वको लक्ष्य पनि प्राप्त गर्न गाह्रो परिरहेको छ । उद्योगधन्धा पूर्ण क्षमतामा चल्न सकेको स्थिति छैन । यो समस्याबाट कसरी निस्कने अबको हाम्रो चिन्ता र चासो त्यता केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भने ।
सरकारले अर्थतन्त्रको सुधारका लागि चालेका कदम तथा रणनीति, निजी क्षेत्रको सहयोगस्वरूप बाह्य क्षेत्र मजबुत अवस्थामा रहेको तथा विप्रेषणको वृद्धि दर राम्रो हुनुका साथै शोधानन्तर स्थिति बचतमा रहेको प्रसंग उल्लेख गर्दै उहाँले हाम्रो जस्तो देशको लागि विदेशी सञ्चितिको स्थितिले बढी महत्व राख्ने उल्लेख गरे । कोशी प्रदेशमा हलेसीका महादेव, ट्याम्केका सिद्धबाबा, पाथीभरा माता, छिन्ताङ् देवी, बराहक्षेत्र, यस प्रदेशका गुम्बा, मठमन्दिर, लोभरकटी किराँत मन्दिरलगायतलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने विचार व्यक्त गरे ।
प्रतिक्रिया