काठमाडौं । राष्ट्रियसभामा रिक्त २० सदस्यको चुनावको मिति घोषणा भइसकेपछि र फागुन २० मा एमालेबाट बनेका वर्तमान राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ठाउँमा नयाँ अध्यक्ष आएपछि संसद्को प्रशासकीय नेतृत्वदायी पद महासचिव आफ्नो पकडबाट गुम्ने हो कि भन्ने डरले वर्तमान महासचिव भरतराज गौतमलाई ९ महिना अगावै जबर्जस्ती राजीनामा गर्न लगाई महासचिव पद हत्याउनलाई अव्यावहारिक रूपमा गौतमको राजीनामा स्वीकृत नभई सचिव पदमप्रसाद पाण्डेय सिफारिस गरी राष्ट्रपतिबाट नियुक्ति भएन भनेर रोइलो गरिरहेको एमाले नेतृत्व पाण्डेयको नागरिकता विवादका कारण नैतिक धर्म संकटमा भने परेको छ । स्वयम् पाण्डेयले नै दुई वटा नागरिकता लिएको सार्वजनिक रूपमा स्वीकारेपछि एमाले कब्जाको लागि जस्तोसुकै तल्लोस्तरको हर्कतबाट पछि हट्दैन भन्ने पनि पुष्टि भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले संघीय संसद् सचिवालयको नेतृत्व आफू अनुुकूल पकडमा राखिराख्न हतारहतार र चलाखीपूर्ण तरिकाले सभामुख र अध्यक्षमार्फत प्रशासनिक नेतृत्व गर्ने महासचिवको हेरफेर विवादित बनेको छ । महासचिव भरतराज गौतमले दिएको राजीनामा स्वीकृत नहुँदै अध्यक्ष र सभामुख हतारहतार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पदमप्रसाद पाण्डेयलाई महासचिव बनाउने सिफारिस गरेका थिए । सिफारिस लिएर जाने प्रक्रिया नै मिलेन । संसद् सचिवालयले प्रक्रियाअनुसार कर्मचारीले पु¥याउनुपर्ने पत्र अध्यक्ष र महासचिव नै हुल बाँधेर गएपछि त्यतिबेलै शीतल निवासले शंकाको आधारमा हेरेको थियो । फलस्वरूप तत्काल गौतमको राजीनामा भएन । सभामुखले राष्ट्रपतिविरुद्ध नै अभिव्यक्ति दिएका थिए । तर, प्रक्रिया पूरा गरेर गौतमको राजीनामा शीतल निवासबाट स्वीकृत भए पनि सिफारिस गरिएका पाण्डेको नियुक्ति भने भएको छैन । उनी अहिले सभामुख घिमिरेको सिफारिसमा कार्यवाहक महासचिव भएका छन् । राष्ट्रियसभाको निर्वाचनको मिति तोकिसकेको अवस्था र चुनावपछि अध्यक्ष नै नयाँ आउने परिस्थितिमा हतारहतार गौतमलाई राजीनामा गराएर पाण्डेलाई नियुक्ति गर्न खोज्ने कुरा विवादमा परेका बेला अहिले उनै पाण्डेको उमेर विवाद पनि बाहिर आएको छ । संसद् सचिवालयमा सचिवका रूपमा एक वर्ष पनि पूरा नगरेका पाण्डेको अहिले नागरिकता उमेर विवाद बाहिर आएको हो ।
पाण्डेले ६ वर्ष उमेर घटाएर १० वर्ष प्रयोग गरेको नागरिकताबाट पासपोर्ट लिएको खुलेपछि यो विवाद वाहिर आएको हो । उनको पहिलो नागरिकतामा जन्ममिति २०२६ असोज १५ गते कायम गरिएको र पछि २०६६ साल भदौ ८ गते जिल्ला प्रशासन कार्यालय पाल्पाबाट लिएको अर्को नागरिकतामा जन्ममिति २०३२ पुस २६ गते उल्लेख गरेको सञ्चार माध्यमहरूमा सार्बजनिक भएको छ । पाण्डेको यो नागरिकता र उमेर विवादको कारण थपिँदा पाण्डेको सिफारिस अनुमोदन भएको छैन । राष्ट्रपति कार्यालयले उनलाई हालसम्म नियुक्ति दिएको छैन ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिना दुवैजनाले राष्ट्रपति पौडेललाई भेटेरै सिफारिस बुझाएका थिए । पत्रमात्र पठाएर हुने ठाउँमा दुवैजना गएर सिफारिस बुझाउनुलाई शीतल निवासलाई दबाब दिन खोजेको र केही गडबड हुन सक्ने आशंकामा नियुक्तिको सिफारिस होल्ड गरेको हुन सक्ने बताइएको छ । शीतल निवासले भने अध्ययन गरिरहेको जनाएको छ । यता सभामुख देवराज घिमिरेले पाण्डेलाई महासचिव नबनाइए आफू अदालत जाने बताउँदै आएका छन् ।
प्रतिक्रिया