देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस वाग्मती प्रदेशको पहिलो सम्मेलन : कस्ले के भने ?

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश दोधारमा उभिएको बताएका छन् ।
शनिबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेशको पहिलो सम्मेलनमा उनले यस्तो बताएका हुन् । पार्टीमा मेलमिलाप आवश्यक रहेको भन्दै उनले जितहार स्वाभाविक भएको र हार्नेले जित्ने साथीलाई सहयोग गर्नुपर्ने बताए । कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेको बताउँदै यो व्यवस्थाका कारण आदीवासी जनजाती, अपाङ्गता भएकाहरुको प्रतिनिधित्व हुने व्यवस्था भएको बताए ।
यस्तो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत नआउने भएपनि कांग्रेस ठूलो पार्टी भएको स्मरण गराए । उनले ग्रास रुटदेखि नै कांग्रेसलाई बलियो बनाउन लाग्न आग्रह गर्दै बागमती प्रदेशका नेताहरुले अझ बढी नेतृत्वदायी भूमिकामा बसेर सबै नेपालीहरुलाई नेतृत्व दिनेगरी काम गर्न आग्रह गरे ।


कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसको आनीबानी र व्यवहार सुदृढ गर्न आवश्यक रहेको पनि बताए । उनले संसद् सञ्चालनमा ढिलाइ भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याइने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुनसम्ममा प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी दिए । कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग उठेको उनले उल्लेख गरे । प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह उनले आग्रह गरे ।
उनले कांग्रेस महासमिति बैठकसम्म प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन ल्याउन आग्रह गरे । त्यति बेलासम्म कानुन नल्याइए महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने उनले बताए । शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताए । उनले पार्टीमा को कसले केके पद लिएको छ त्यसको दायित्व पूरा गरेको छ कि छैन त्यसको समीक्षा, आत्मआलोचना गर्नुपर्ने बताए ।


केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय सदस्य चयनका लागि प्रत्येक साधारण सदस्यले मतदान गरेर चयन गर्ने व्यवस्था ल्याउन माग गरे । यस्तो भएमा पार्टीभित्रको गुटबन्दी समाप्त हुने उनको टिप्पणी थियो । उनले कांग्रेस क्याडरबेस पार्टी हुन नसक्ने बताउँदै समावेशी पार्टी हुनुपर्नेमा जोड दिए ।
वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार माग्न प्रधानमन्त्रीकोमा डेडिकेसन जानुपर्ने अवस्था रहेको बताए । प्रदेश हतियारबिनाको सेनाजस्तो भएको उनको टिप्पणी थियो । निर्वाचन प्रणाली अस्थिरताको जड भएको भन्दै उनले निर्वाचन प्रणाली फेर्ने नेतृत्व कांग्रेसले गर्न आग्रह गरे । उनले पार्टीको टिकट वडा सभापति र त्यहीँको क्रियाशील सदस्यले दिने व्यवस्था गर्न जरुरी रहेको बताए ।

नेपाली कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले समय अनुसार चुनौती मोलेर हिँड्न नसके कांग्रेसको पहिचान नै नरहने बताए । संगठनलाई चलायमान बनाउनु पर्नेमा उनको जोड छ । कांग्रेस मधेस सभापति तथा प्रदेशमन्त्री कृष्ण यादवले संविधानको आधारमा दिनुपर्ने अधिकार प्रदेशलाई नदिइएको बताए । कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले संविधान पूर्णरुपमा कार्यान्वयन नभएको बताए । समय अनुसार चल्न नसके जनताले प्रश्न गर्ने भन्दै उनले कार्यकर्ताले प्रश्न गरिरहेको बताए ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सुधारको काम गर्न नसके प्रजातन्त्र बलियो हुन नसक्ने बताए । सुदूरपश्चिम प्रदेशका कांग्रेस सभापति वीरबहादुर बलायरले नेपाली कांग्रेसले जनजीविकामा सकारात्मक प्रभाव पर्ने काम गर्नुपर्ने बताए ।