देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको लगातार दोस्रो जित, मलेसिया ५ विकेटले पराजित

देशान्तर

 

काठमाडौं । नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले २३ तथा प्रनित थापा मगरले अविजित १८ रन बनाए । मलेसियाका हफिजुद्दीनले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरको किफायती बलिङसामु २५ ओभर ५ बलमा अलआउट हुदैँ ५८ रनमा समेटिएको थियो । नेपाली बलर हावी भएपछि मलेसियाका कुनैपनि ब्याट्सम्यानले १० रनको आँकडा पुरा गर्न सकेनन् ।

मलेसियाका भिरणदिप सिंह र हैकल खैरले समान ९ – ९ ,सैफुल्हा मल्लिकले ८ तथा अमर हजालनले ७ रन बनाए । मलेसियालाई सस्तैमा समेट्न कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए । सिंगापुरविरुद्धको पहिलो खेलमा पनि ५ विकेट लिएका सन्दिपले ८ ओभर ५ बलमा एक मेडनसहित मात्र १७ रन खर्चिएर ५ विकेट लिएका हुन् । यस्तै नेपालका पवन सर्फारले ३ तथा किशोर महतो र सन्दिप सुनारले समान एक एक विकेट लिए ।

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । र, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ । नेपालले सोमबार भएको पहिलो खेलमा घरेलु टोलि सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो । मलेसियाको भने यो लगातार दोस्रो हार हो । अब तेस्रो खेलमा बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानको सामना गर्ने छ ।

सिंगापुरमा जारी ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ । नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।