काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दिएको क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् ।
उनले यस बारेमा प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानून अनुसार कारबाही गर्न पनि माग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनको राजीनामाको माग चर्को बढेको छ । एमाले नेता गोकुल बास्कोटाले थुन्नै पर्ने देशद्रोही (अरू धर्म मान्ने) को संख्या करिब ९८ प्रतिशत रहेको उल्लेख गर्दै उनीहरुलाई थुन्न कत्रो जेल बनाउँला त ? भनेर लेखेका छन् । बास्कोटाले माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भएको उल्लेख गरेका छन् ।
यसैबीच आफ्नो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि पर्यटनमन्त्री सुदन किरातीले प्रष्टीकरण दिएका छन् । बहसका लागि सबैलाई धन्यवाद भन्दै उनले संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको जिकिर गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले ‘भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दू भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौं । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’
प्रतिक्रिया