काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेल प्रकरणमा दिएको अभिव्यक्तिप्रति सांसद गगन थापाले गम्भीर आपत्ति जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य समेत रहेका सांसद थापाले एउटा समितिको सभापतिले अर्को समितिलाई ‘सुन्ड मुसन्ड’ भनेर गरेको टिप्पणीले संसदीय मर्यादामाथि नै गम्भीर प्रश्न उठाएको बताए ।
सांसद थापाले एउटा समितिले अर्को समितिको कुरा काटेको भन्दै यसबारेमा गम्भीर रूपमा कुरा उठाउनुपर्ने बताए । सांसद थापाले बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै यसबारे आजै सभामुखको ध्यानाकर्षण गराउनुपर्ने बताएका हुन् ।
उनले मन्त्रिपरिषद्का निर्णयमा छलफल गर्ने सार्वजनिक लेखा समितिको क्षेत्राधिकार हो कि होइन भनेर प्रश्न उठाए । एउटा समितिको सभापतिले अर्को समितिमाथि उठाएका गम्भीर प्रश्नको निरुपण पनि हुनुपर्ने उनको भनाइ थियो । लेखा समितिका सभापति पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका थिए ।
उनले एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन राज्य व्यवस्थापन समिति आफ्नो कार्यक्षेत्र भन्दाबाहिर गएको आरोप लगाएका हुन् । सुशासन समिति बैठकमा मंगलबार एनसेल प्रकरणलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ मागिएको थियो ।
प्रतिक्रिया