देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ : राष्ट्रपति पौडेल

देशान्तर


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानी अनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन् । शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।

त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षामा नेपाल सरकारको लगानी पर्याप्त नभए पनि सक्दो प्रयास देखिएकाले मुलुकको भाग्य र भविष्य जनशक्तिको उत्पादनसँग जोडिएको बताए ।

राष्ट्रपति पौडेलले स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा मुलुकलाई अघि बढाउन नेपालीहरू हिँडिरहेको बताउँदै देश परिवर्तनको बाटोमा अघि बढ्दाको सङ्क्रमणकालीन चुनौती र बिघ्नबाधाको सामना पनि नेपालीले गर्न परिरहेको बताए ।
राष्ट्रपति पौडेलले समावेशी विशेषतायुक्त अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको बताए । उनले भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त नेपाली समाजको एकताका लागि अहिलेको संविधान र यो व्यवस्था अत्यन्तै महत्त्वपूर्ण पक्ष हो भनेरे बुझ्न जरुरी रहेको स्पष्ट पारे ।

राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाको अहम् भूमिका रहने कुरा निर्विवाद रहेको बताउँदै राष्ट्रपति पौडेलले कुनै पनि राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सीप, प्रविधिको विकास र प्राप्तिमा निर्भर पर्ने उल्लेख गरे ।

ज्ञान, सीप, प्रविधिको विकासलाई प्रभावकारी, जीवनोपयोगी र मुलुकका लागि उपलब्धिमूलक बनाउन त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षा समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष नीति अँगाल्नु जरुरी रहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय सच्चरित्र निर्माणका माध्यमबाट राष्ट्र निर्माण र राष्ट्रहितप्रति समर्पित भई उपलब्धि हासिल गर्नुमा नै यो ज्येष्ठ विश्वविद्यालयको स्थापना, यसमा सञ्चालित प्राध्यापन र अध्ययनको औचित्य पुष्टि हुने बताए ।