१) विषय प्रवेश :
विख्यात दुई राजनीतिक दार्शनिकहरूले युवाको परिभाषा यस प्रकार दिनु भएको छ – “युवा भनेको त्यो हो, जसलाई उमेरले छेक्दैन, तर उसको विचार जुझारु र युवामैत्री हुनुपर्दछ ‘’ – कम्युनिस्ट राजनीतिज्ञ दार्शनिक कार्ल मार्क्स .
“युवा भनेको उमेरभन्दा पनि शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा स्फूर्त र सामाजिक रूपमा स्वास्थ्य, वैचारिक रूपमा स्पष्टभएका व्यक्तिलाई जनाउँछ।’’ समाजवादी दार्शनिक तथा नेपाली काँग्रेसका संस्थापक वि.पी. कोइराला ।
युवा सम्बन्धित अन्य महत्त्वपूर्ण परिभाषालाई हेरौँ –
प्रज्ञा नेपाली बृहत् शब्दकोशमा तरुण; जवानीले नछाडेको र बुढ्याइँले नछोएको व्यक्ति भनिएको छ ।
राष्ट्रिय युवा नीति, २०७२ मा युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनैतिक,आर्थिक,सामाजिकरसांस्कृतिक रूपान्तरणका अग्रदूत हुन।साहस, सृजनशीलता, उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा परिभाषित गरिएको छ।
नेपालमा उमेर समूहका हिसाबले १६ देखि ४० वर्षका उर्वर उमेरका व्यक्तिहरूलाई युवा मानिएको छ । राष्ट्रिय जनगणना २०७८ ले युवाको जनसङ्ख्या कुल जनसङ्ख्याको ४२ प्रतिशत रहेको देखाएको छ ।
युवा भनेको देशको शक्ति मात्र नभै अर्थतन्त्रलाई जीवन्त बनाइ राख्ने आधार पनि हो । युवा सबैभन्दा बढी आम्दानी र उपभोग कर्ता पनि हुन । देश विकास गर्ने जनशक्ति भनेको जोस, जाँगर र नयाँ सोच बोकेका युवा नै हुन्। युवा भनेको अजय शक्ति हो, जुन शक्तिले नेपाल लगायत विश्वमा ठुला राजनैतिक परिवर्तनहरू सम्भव भएका छन् । अहिले नेपालमा युवाहरूको लक्ष्य र गन्तव्य भनेको नै विदेश जानु रहेको छ । यसो हुनुमा केवल युवाहरु मात्र जिम्मेवार छैनन् । यसका पछाडि विगत देखि वर्तमान सम्मका तपसिलका विषयवस्तुहरूमा केन्द्रित रही विश्लेषण गर्नु सान्दर्भिक हुन्छ ।
२) ऐतिहासिक प्रचलन:–
मानव जातिको इतिहासले देखाउँछ कि रोजगार, सुविधा र अवसरको खोजीमा बसाइ सर्ने क्रम नौलो होइन । ‘’पानी जति बग्यो उति सङ्लो हुने र मानिस जति हिँड्यो ,डुल्यो ,बसाइ सर्यो उति टाठा बाठा हुने ” प्रचलित भनाइ छ । हालको पाकिस्तानको लाहोर सहरमा नेपाली युवाहरू रोजगारमा जाने प्रचलनलाई लाहोर जाने भन्दाभन्दै अपभ्रंश भई लाहुर र छिमेकी मित्रराष्ट्र भारतका विभिन्न सहरहरूमा रोजगारमा जाने चलनलाई लाहुर जाने भन्न थालियो ।‘’बेला छदै मेला , बैँस छदै लाहुर” भन्ने उक्तिले पनि युवा अवस्थामा विदेश जाने प्रचलनलाई उजागर गरेको देखिन्छ ।
अहिले विश्वव्यापीकरणले संसार सानो गाउँ भएको छ । विश्वका श्रम स्वीकृत प्राप्त धेरै मुलुकमा रोजगारमा जाने प्रचलन बढेको छ।वैदेशिक रोजगारी नेपालको मात्रै होइन, नेपाल जस्तै अन्य धेरै गरिब मुलुकहरूको पनि बाध्यता नै हो ।
३) वर्तमान सन्दर्भ :
अहिले युवा समूहलाई के गर्दै हुनुहुन्छ भनेर सोधियो भने “बाहिर जाने प्रयास गर्दै छु” भन्ने जवाफ आउँछ । वर्तमान अवस्थामा विशेष गरेर चार किसिमका युवा जनशक्ति बिदेसिएका छन्। पहिलो – काम गर्ने अनुमति लिएर (खाडी मुलुक ,दक्षिण कोरिया र जापान) दोस्रो- अध्ययनको सन्दर्भमा (अमेरिका ,क्यानडा ,अस्ट्रेलिया लगायत युरोपका सम्पन्न मुलुकहरू ) तेस्रो- अमेरिकाको डिभी चिट्ठा मार्फत र चौथो- श्रम स्वीकृति लिनु नपर्ने ,खुला सिमाना , नजिक र रोजगारीको सुनिश्चितता भएकाले धेरै नेपाली युवाको सहज र आकर्षक गन्तव्य भारत बनेको छ । पहिलो र दोस्रो प्रकारबाट विदेश जानेहरूको सन्दर्भले बढी महत्त्व पाइरहेको छ ।
वैदेशिक रोजगार विभागको वार्षिक श्रम स्वीकृत विवरण अनुसार आर्थिक वर्ष २०७९।८० मा पुरुष ६,९९,१९३ र महिला ७२,१३४ गरी जम्मा ७,७१,३२७ नेपालीहरू श्रम स्वीकृत लिएर विदेश गएको अभिलेख छ ।
४) युवाहरूको मनोविज्ञान :
जसरी बत्तीको उज्यालोमा पुतली झुम्मिन्छ, त्यसैगरी नेपाली युवाहरू पनि विदेशको मोहमा परिरहेका छन्, जसलाई सामाजिक विज्ञानमा BrightLight Syndrome भनिन्छ।अहिले अधिकांश युवाहरूको मनोविज्ञान नेपालमा बसेर केही हुदैन, विदेश जानै पर्छ भन्ने धारणा बलियो बनेको छ । चरम निराशा देखिएको छ । श्रम स्वीकृत लिनेले विदेशमा गएर कमाउँछु, परिवार पाल्छु , फर्किएर सानातिना काम गर्छु भन्ने र अध्ययनको सन्दर्भमा अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरोपियन मुलुकहरू जानेहरूको उद्देश्य त्यतै कमाउने,रमाउने र स्थायी बसोबासको अनुमति प्राप्त गर्ने मात्र रहेको देखिन्छ । बनिबनाउ स्वर्गको कल्पना गरी विकसित मुलुकमा बसाइ सरेर जान युवावर्ग लालायित देखिन्छन् । उच्च शिक्षाका लागि विदेश जानेहरूमा अधिकतर बिस वर्ष उमेर पुगेकाहरू हुने गरेका छन्। सुरक्षित, सभ्य, सुविधा सम्पन्न बसाँइ र सन्तानको उज्ज्वल भविष्यको कल्पना गरी सपनाको तानाबाना बुनाई नै अहिले धेरै युवाहरूको सोचाइ रहेको छ । युवाहरूमा नेपालमा केही छैन, विदेश नै अन्तिम विकल्प हो भन्ने खालको मनोविज्ञान देखिन्छ ।
५) युवा जनशक्ति बिदेसिनुका कारणहरू:
क) सरकार :
सरकारले बजेट मार्फत व्यापार व्यवसाय गर्न चाहने युवाहरूलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने घोषणा गर्छ तर कार्यान्वयनमा आउँदैन। सरकारले समयमा पुँजीगत खर्च गर्न नसक्दा रोजगारी सिर्जना र लक्षित राजश्व समेत प्राप्त गर्न सकिरहेको छैन। स्थानीय तहले विदेश जान प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउँछन् । बैङ्क तथा वित्तीय संस्थाहरूले विप्रेषण जम्मा हुने खातामा आकर्षक व्याज र वैदेशिक ऋणमा जोड दिइरहेका छन् । राजनैतिक दलहरूले Free Ticket ,Free Visa जस्ता चुनावी नाराहरूले निर्वाचन जित्ने धृष्टता राख्छन् । युवा लक्षित पढ्दै कमाउँदै (Learn to Earn) कार्यक्रम सञ्चालन गरिएको छैन । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको छ । दण्डहीनताले प्रश्रय पाएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरूको ज्ञान, सीप तथा अनुभवलाई केन्द्रमा राखेर तीनै तहका सरकारले ल्याएका विशेष कृषि, पशुपालन, लघु उद्यम कार्यक्रमहरूमा पनि विशेष आकर्षण देखिएको छैन ।
ख) शिक्षा नीति :-
‘’English is just a language not knowledge’’ तर अङ्ग्रेजीलाई ज्ञानको रूपमा लिइयो । भाषाको रूपमा लिइएन । अङ्ग्रेजी मोहले पनि युवाहरूलाई बिदेसिन सहयोग पुगिरहेको छ ।अधिकांश संस्थागत विद्यालयहरुका उत्पादनहरू त केवल प्राविधिक क्षेत्रमा मात्र योग्य देखिए । नेपालमा बिक्न सक्ने खालका जनशक्ति तयार भएनन्। तसर्थ उनीहरूको विकल्प भनेकै विदेश जानु देखिन्छ । प्राविधिक र व्यावहारिक शिक्षा नीति नभएकाले हाम्रा विश्व विद्यालयहरू दक्ष जनशक्तिको सट्टामा बेरोजगारी ,अदक्ष जनशक्ति उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । नेपाली युवाहरू विश्व श्रम बजारमा प्रतिस्पर्धामा खरो रूपमा उत्रिन सकिरहेका छैनन् । तसर्थ वर्तमान शिक्षा प्रणालीमा नै समयसापेक्ष आमूल परिवर्तनको खाँचो देखिएको छ ।
ग) आर्थिक मन्दी:-
सन २०१९ देखि विश्वव्यापी रूपमा देखिएकोकोरोना भाइरसको प्रभाव र रुस –युक्रेन युद्धले निम्ताएको सङ्कटले आर्थिक मन्दीका सङ्केतहरू देखा परिरहेका छन् । वर्तमान सन्दर्भमा निजी क्षेत्रले आफ्नो उत्पादन घटाउँदा जनशक्ति पनि कटौती गरिरहेका छन् । जसका कारण युवाहरूले ठुलो सङ्ख्यामा रोजगार गुमाइ रहेको अवस्था विद्यमान छ । व्यापार व्यवसाय घटिरहेको छ।सङ्घीय राजधानी लगायतका मुख्य मुख्य सहर तथा बजारबाट पनि व्यवसायीहरु पलायन हुने क्रम बढ्दो छ । सबै क्षेत्रले सीमित जनशक्तिबाट काम चलाइ रहेका छन । रोजगारदाताहरूबाट रोजगारी गुमाएका युवाहरू अन्य कुनै क्षेत्रमा पनि अवसर नपाएकाले विदेशलाई अन्तिम गन्तव्य बनाउन बाध्य बनेका छन् ।
घ) राजनैतिक कारण :-राजनीति सबै नीतिहरूको मूल नीति हो । राजनैतिक दलका मेरुदण्ड भनेका युवाहरू हुन । प्रत्येक राजनैतिक दलका भातृ सङ्गठनमा युवाहरूको सङ्गठन छ।युवाहरूलाई राजनैतिक दलहरूले निर्वाचनमा जित निकाल्न सुरक्षा कवचको रूपमा प्रयोग गरेको पाइन्छ । हरेक आन्दोलनको अग्र भागमा पहरेदारको रूपमा युवाहरू परिचालित हुन्छन् । तर नीति निर्माण तहमा युवाहरूको सहभागिता निकै कम हुने गरेको छ । सहभागी हुने अवसर पाएकाको पनि सार्थक र अर्थपूर्ण भूमिका गौण रहेको देखिन्छ । राजनैतिक दलहरूले युवाहरूलाई स्वदेशमा नै उत्पादनसँग जोडिने खालका कार्यक्रम , रोजगार तथा व्यवसायको माध्यमबाट टिकाउने खालका कार्यक्रमहरू प्रभावकारीरुपमा सञ्चालन गर्न नसकेकाले जीवनयापनको समस्याले पनि युवाहरू बिदेसिनु बाध्यता रहेको छ।
“विदेशमा युवाहरूले देश चलाउँछन् ,वृद्धले पेन्सन लिन्छन् तर नेपालमा वृद्धले देश चलाउँछन्, युवाहरूलाई विदेश पठाउँछन् “ यो तथ्य तितो सत्य साबित भएको छ । युवाहरूमा परम्परागत राजनैतिक विचारधारा र दृष्टिकोण अँगालेका दलहरू र तिनका नेतृत्वप्रति व्यापक वितृष्णा देखिएको छ ।वैकल्पिक राजनैतिक शक्तिको खोजीमा युवा देखा परेका छन् । जुन कुरा गत वर्ष सम्पन्न निर्वाचनले समेत पुष्टि गरिसकेको छ ।
ङ) देखासिकी र लहलहैमा : अध्ययनको सन्दर्भमा विदेश जानेहरूमा आफूभन्दा ठुलो मान्छे विदेशमा गएको छ भने उसैको देखासिकी गरेर र साथीभाइहरूको लहलहैमा पनि विदेश जाने मोह बढेको पाइन्छ ।
६) युवा जनशक्ति विदेश पलायनले देशमा पारेको प्रभाव:
क) प्रतिभा पलायन (Brain drain ) : उचित अवसर र सुविधाको खोजीमा प्रतिभा सम्पन्न व्यक्तिहरू अन्य देशमा जाने काम अर्थात् प्रतिभाको अपचलन नै प्रतिभा पलायन हो । उच्च बौद्धिक क्षमता भएका व्यक्तिहरूले जन्मभूमि छाडी अन्य देशमा आफ्ना दिमागी योग्यता खर्चिनु ब्रेन ड्रेन हो भने जाने राष्ट्रका लागि भने ब्रेन गेन (Brain gain ) हो ।
हाम्रा युवाहरू अध्ययनको क्रममा सुविधा सम्पन्न मुलुकमा गई उतै डायस्पोरा (Diaspora) भई रहेका छन् । यस्ता प्रतिभावान् युवाहरूको पलायनले राष्ट्रलाई अपूरणीय क्षती भइरहेको छ । अहिले स्नातक पढाउने कलेज रित्तिएका छन्, कन्सल्टेन्सी र भाषा कक्षा पढाउने संस्थामा भिडभाड छ । विश्वविद्यालय बेरोजगार उत्पादन केन्द्र जस्ता भएका छन् । स्नातक तहमा विद्यार्थीहरू नपाइने समस्या देखि भर्ना भएका पनि सेमेस्टर पुरा नगर्ने प्रवृत्तिले चार वर्षे पाठ्यक्रमलाई तीन वर्षे बनाउने विषयमा बहस सुरु भैसकेको छ । त्रिभुवन विश्वविद्यालय तर्फ हुने लाइन त्रिभुवन विमानस्थल तर्फ देखिएको छ भन्दा पनि अत्युक्ति नहोला ।
ख) पुँजी र श्रम पलायन :
हरेक वर्ष ठुलो सङ्ख्यामा देशका श्रमशील र मेधावी युवा विदेश पलायन हुनु भनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानु जस्तै हो। देशमा रहने भनेका पाका उमेरका मानिस मात्र हो । जसले काम गर्ने क्षमता राख्दैनन् बरु उनीहरूलाई सहारा आवश्यक परिरहेको हुन्छ । युवा विदेश पलायन हुँदा कृषि, निर्माण तथा अन्य विभिन्न कामका लागि भारतीय श्रमिकमा भर पर्नु परेको छ । जसले गर्दा यहाँबाट ठूलोमात्रामा विप्रेषण भारत जाने गरेको छ। शैक्षिक प्रतिभाको पलायन सँगसँगै नेपालबाट प्रत्येक वर्ष ठुलो धनराशि विदेश पलायन भएको छ । स्थायीरुपमा बस्ने अनुमति पाएसँगै नेपालको घर ,जग्गा समेत बेचेर रकम विदेश पठाउने कार्यले नेपालको पुँजी विदेश पलायन भइरहेको छ । अधिकांशले बैङ्क मार्फत आर्थिक कारोबार नगरी हुन्डी मार्फत गर्नाले अर्थतन्त्रमा असर परिरहेको छ ।
ग)विप्रेषण(Remittance)मा निर्भरताको जोखिम :- खास गरी वैदेशिक रोजगारीमा गएका युवाको कमाइ विप्रेषण अहिले घरपरिवार धान्ने जीवन निर्वाहको मुख्य स्रोत बनेको छ । अधिकांशले घर घडेरी जोड्ने , अनुत्पादक र उपभोग्य क्षेत्रमा पनि विप्रेषण खर्च गर्ने गरेको नेपाल राष्ट्र बैङ्कको एक अध्ययन प्रतिवेदनले देखाएको छ । त्यति मात्र होइन, हाम्रा बैङ्क तथा सिङ्गो देशको अर्थतन्त्र यसैबाट चलायमान भएको देखिन्छ। तर वैदेशिक रोजगारीले नेपाली समाजमा पारिवारिक विखण्डन तथा सम्बन्ध विच्छेद बढाएको छ। अहिले नेपालको अर्थतन्त्र विप्रेषणले धानेको छ । विप्रेषणले विदेशी मुद्रा सञ्चिति छ तर व्यापार घाटा उच्च छ । विप्रेषणले मात्र फड्को मारेको कुनै देश छैन । एउटा वस्तुमा मात्र भर पर्नु (Dutch Disease) खतरा हो । भोलि विप्रेषण तल माथि भएमा देशको आर्थिक अवस्था भयावह हुन सक्छ ।
घ) सामाजिक प्रभाव:- सन्तानलाईजन्मायो , हुर्कायो , पढायो, जब परिवार समाज र देशलाई उत्पादन दिने समय आउँछ,परिपक्व अवस्थामा विदेशमा जान्छन् अनि उतै उत्पादन दिन थाल्छन् । देशले जनसाङ्ख्यिक लाभ लिन पाउँदैन। उनीहरूको ज्ञान, सिप, क्षमता, ऊर्जालाई अधिकतम उपयोग गरेर विदेशी मुलुकहरू सम्पन्न हुन्छन्, हामी जहाँको त्यही हुन्छौ । घर, परिवार ,समाज मात्र होइन देश युवाविहीन हुने खतरा बढ्दै छ।
युवा विनाको समाज कल्पना पनि गर्न सकिँदैन । वैदेशिक रोजगारीले मुलुकको सामाजिक क्षेत्रमा तत्काल सकारात्मक प्रभाव पारेको जस्तो देखिएता पनि दीर्घकालीन रूपमा यसका नकारात्मक असरहरू नै धेरै देखिएका छन् ।वैदेशिक रोजगारीले सामाजिक विसङ्गतिदेखि आर्थिक परनिर्भरता समेतलाई बढवा दिई रहेको छ । देश वृद्धाश्रम त हुने होइन भन्ने चिन्ता र चासो बढेको छ। यी विषयहरू अहिले बहसमा आइरहेका छन् । युवावस्थामा विदेशमा रमाउने र बुढौलिमा आफ्नो मातृभूमि खोज्ने प्रवृत्ति पनि देखिन थालेको पाइन्छ । श्रम स्वीकृति लिएर रोजगारमा जाने युवाहरू अधिकांश खाडी मुलुकको प्रचण्ड धूपमा काम गरिरहेका छन् । जसको कारण बिरामी पर्नुका साथै अस्वाभाविक मृत्युले गर्दा परिवार लगायत समाज नै सहारा विहीन बन्दै गएको कहालीलाग्दो स्थिति सिर्जना भइरहेको छ ।
२) बिदेसिने युवा जनशक्तिको पीडा:
विदेशमा रहँदा बस्दा युवाहरूले मानसिक तथा शारीरिक दुवै प्रकारका पीडावोध गरिरहेका छन् ।अध्ययन भिसा मार्फत विदेश जाने युवाहरू पनि सन्तुष्ट देखिएका छैनन् । नयाँ स्थान,परिवेश, संस्कृति ,परम्परा, नियम कानुन ,व्यस्त जीवनशैली , कडा मिहिनेत र रोजगारीको समस्याले पिरोलीरहेको हुन्छ । हरेक दिनको सुरुवात पैसा वाट सुरुवात भई पैसा वाट नै अन्त्य हुन्छ भन्दा अत्युक्ती नहोला । कल्पनाको स्वर्ग भन्दा विदेशको वास्तविक संसार भिन्न हुनाले आशातीत सफलता नपाएपछि मानसिक तनावमा समेत परेका पाइन्छन् । मोबाइल, सवारीसाधन र घर किस्तामा उपलब्ध गराउने सरकारी नीतिले आजीवन कमाउने र किस्ता तिर्ने परिबन्दले फनफनी घुमाइ रहेको हुन्छ । विदेशी विद्यार्थीहरूले आफ्नो देशबाट उनीहरूको देशमा सकेसम्म पैसा नलैजाउन् भन्ने घुमाउरो नीति सरकारले अवलम्बन गरेको जस्तो लाग्छ ।
अर्को तर्फ श्रम स्वीकृत लिएर जानेहरूले पनि आफ्नै प्रकारका पीडाहरूका कथा व्यथा अनुभूत गरिरहेका छन्। Man power company ले आकर्षक तलब र राम्रो कामको प्रलोभनमा पारेर जोखिमयुक्त काममा लगाई रहेका हुन्छन् । श्रमको पनि उचित मूल्य पाउदैनन । सम्बन्धित देशको भाषा, सिप, नियम, कानुनहरूको अनभिज्ञताले गर्दा समस्यामा परिरहेका हुन्छन्।गैर कानूनीरुपमा प्रवेश गरेकाहरू त झन् जोखिममा रहने नै भए। घरेलु महिला कामदार यौन शोषणमा परेका कुराहरू पनि समय- समयमा आउँछन् ।
उपसंहार
अवसरका लागि एक ठाउँबाट अर्को ठाउँमा सर्ने मानव मात्रको विश्वव्यापी प्रचलन नै रहेको इतिहासले पुष्टि गर्छ । वर्तमान २१औँ शताब्दी, विश्व व्यापारीकरणको युगमा पनि विदेश जानु, उच्च शिक्षा हासिल गर्नु, सीप सिक्नु र वैदेशिक मुद्रा आर्जन गर्नु अपराध पक्कै होइन । नेपालमा थप सुखको लोभमा गाउँका मानिस सहर पस्ने, सहरका मानिस काठमाडौँ सर्ने अनि काठमाडौँबाट विदेश जाने गरेको देखिन्छ । स्वदेशमै केही गर्ने , केही कमाउने अवसर प्राप्त नभएकै कारणले गर्दा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानु नेपालीको रहर होइन बाध्यता हो । अध्ययनको लागि विदेश जानेहरू शिक्षित युवाहरूबाट बर्सेनि अरवौ रकम मात्र बाहिरिएको छैन उनीहरूले सदाका लागि देशै छोडिरहेका छन् ।
विदेश जानु , उच्च शिक्षा हासिल गरी पुँजी र प्रविधि सहित अनिवार्य नेपालमा फर्कनु पर्छ भन्ने धारणाको विकास हुनु जरुरी छ । त्यसका लागि सरकारले उचित नीति अवलम्बन गर्न ढिलाइ गर्नु हुँदैन। कमाउँदै पढ्दै जस्ता कार्यक्रमको माध्यम बाट शिक्षित युवाहरुलाई स्वदेशमा नै टिकाउने खालका कार्यक्रमहरू ल्याउनु पर्छ । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरिनु पर्छ । राज्यले श्रम निर्यातलाई होइन, वस्तु निर्यातलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा योजना तर्जुमा गरी प्रभावकारीरुपमा कार्यान्वयन गर्न सक्नु पर्छ। राज्यले विदेशमा काम गरेर हासिल गरेको ज्ञान, सिप र अनुभवलाई स्वदेशमै उपयोग गर्ने उद्यमशील एवं युवामैत्री लगानी वातावरण सिर्जना गरिदिनु पर्छ । निर्वाहमुखी कृषि पेसालाई व्यवसायीकरण गरिनु पर्छ । विदेशमा युवाहरूले सिकेको सिपलाई सदुपयोग गरेर छिमेकी मित्रराष्ट्र चीन अहिले विश्व अर्थतन्त्रको नेतृत्व गर्ने अवस्थामा पुगेको कुरा जगजाहेर छ ।आधारभूत तहदेखिको पाठ्यक्रममा नै व्यावहारिक, प्राविधिक, सिपमूलक, आत्मनिर्भर र देश भक्ति सम्बन्धी ज्ञान दिने विषयवस्तु अनिवार्य समावेश गरिनु पर्दछ । सरकारले गैर आवासीय नेपाली सङ्घ संस्थाहरू मार्फत विदेशमा कमाएको रकम नेपालमा भित्राइ लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्छ । अन्त्यमा , ‘’तीव्र गति जीवनको क्षति ’’ भने झैँ युवा बिदेसिने तीव्र गतिलाई क्रमशः कम गर्दै रोक्न सकिएन भने देशले अपूरणीय क्षति व्यहोर्नु पर्ने हुन्छ । “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”, यो नेपालको राष्ट्रिय आदर्श बनाउन सक्नु पर्छ र वाक्य बनोस् ।
प्रतिक्रिया