काठमाडौँ । संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागगर्दै दर्ता भएको रिट निवेदन प्रधानन्यायाधीशसहितको इजलासमा पेसी तोकिएको छ ।
२०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार पेसी तोकिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, तथा न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुस्मालता माथेमा र कुमार रेग्मीको इजलासमा उक्त रिटको पेसी तोकिएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।
मुद्दामा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्का सदस्य आदिलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया