काठमाडौं । नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली बिहीबार कास्की आइपुग्ने भएको छ ।
यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त सङ्कल्प यात्रा अन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने भएको छ । सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको छ ।
शुक्रबार बिहान पोखराको अमरसिँहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबँेसीमा स्वागत कार्यक्रम हुने छ । सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजारहुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ ।
सङ्कल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया