काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
पक्राउ पुर्जीविरूद्ध नेकपाले मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रमसमेत घोषणा गरेको हो । आज साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले घोषणा गरेको छ ।
विप्लवद्वारा हस्ताक्षरीत विज्ञप्तिमा पक्राउ पुर्जी जारी हुनु २१ फागुन २०७७ मा आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला भएको उल्लेख छ ।
सरकारसँग गरिएको ३ बुँदे सहमतिको एउटा बुँदामा पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको विज्ञप्तिमा स्मरण गरिएको छ ।
प्रतिक्रिया