डा.ध्रुवचन्द्र गौतम
२०४औं भानु जयन्तीका उपलक्ष्यमा असार २८ गते एपेक्स हाइस्कुल र भानु प्रतिष्ठानले मिलेर एउटा भव्य कार्यक्रमको आयोजना गरेका थिए । यो कार्यक्रम मेरा लागि एक यादगार समारोह थियो । एक दिन व्रतराज आचार्यको फोन आयो, जसअनुसार मैले उक्त समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुपर्ने थियो । मैले भने– सरले भनेपछि भइहाल्छ नि । त्यहाँ यो पनि थाहा भयो, वरिष्ठ साहित्यकार प्रा.डा. केशवप्रसाद उपाध्यायलाई सम्मान गरिँदै छ । यो मेरा लागि थप आकर्षण थियो । उनी मेरा अग्रज साहित्यकार हुन् । केशवप्रसाद उपाध्याय कलैयाका हुन् म वीरगन्जको हुँ । २०१६–०१७ सालदेखिकै परिचय हो । यता, प्रा.व्रतराज आचार्य मेरा छिमेकी हुन् साहित्यकार हुन् । जमानामा उनीसित साक्षात् भेटघाट पनि नहुँदै मेरो डापीबारे उनले लेखेको समालोचना म बिर्सिन सक्दिनँ । त्यसबखत म पुरानामै थिएँ । वीरगन्जबाट मेरा माहिला दाइ गोपाल गोतामेले, मलाई चिठीद्वारा व्रतराज आचार्य लेखेको समालोचनाबारे जानकारी दिएका थिए । अपरिचयमै लेखेको समालोचनाले झन् उत्साह बढाएको थियो । अहिले त झन् उनी नेक्स्ट डोर नेबुरजस्तै थिए । त्यसैकारण हामी त्यसदिन यहाँबाट सँगै गएका थियौं, सम्मान गरिने व्यक्तित्व डा.केशव प्रसादलाई लिँदै । व्रतराज आचार्य भानु प्रतिष्ठानका अध्यक्ष पनि हुन् । उनले त्यस नाताले पनि फोन गरेका थिए । पछि निम्तो, हस्ताक्षर लिने आदि भयो । एपेक्स प्रांगणमा पुग्दा विद्यार्थी र अतिथि पनि आइसकेका थिए । केही आउन बाँकी पनि थिए ।
कार्यक्रममा स्कुलका छात्रछात्राद्वारा बीचबीचमा रामायणका श्लोकहरूको पाठ थियो । प्राय: ससाना केटाकेटीहरू मिलेर त्यो पाठ गर्दथे । मन पर्यो । राष्ट्रिय गीत, स्कुल गीत, सब उनीहरूले राम्रो लय र सुरमा गाए । मलाई आफ्नो स्कुल दिनको सम्झना भएर आयो । यसरी मञ्चमा उभिएर गाउन हामी कति उत्साहित रहन्थ्यौं र गयन सम्पन्न भएपछि तालीको गडगडाहट पाएपछि कति खुसी हुन्थ्यौं । यी उत्साहित बालबालिकालाई सबै जस्ते मैले पनि तालीले स्वागत गरे ।
डा. केशवप्रसाद सरल छन् र लेखनप्रति समर्पित छन् । निकट भविष्यमा उनको बृहत् आकारको आत्मकथा प्रकाशित हुँदैछ । साँच्ची भन्ने हो भने, म पनि त्यो ग्रन्थको उत्सुकताले प्रतीक्षा गरिरहेको छु । आफ्ना स्मरणहरूमा त्यहाँका कुरा ध.च.गोतामेले राम्ररी लेखेका छन् । केशवप्रसाद उपाध्यायमा त्यस्ता कुराहरू राम्ररी आउनेछन् भन्ने आशा छ । आफ्नो ठाउँको अतीत कसैले लेखेको छ भने, मलाई त्यो पढ्न रुचिकर लाग्छ ।
एकदिन गोपाल अश्क र म उनीकहाँ गएका थियौं । आत्मकथामा हरिवंश राय बच्चनको क्या भुलुँ याद करुँ, को चर्चा भयो, जुन डा.केशवले पनि पढेका थिए, मैले पनि पढेको थिएँ । उनले भने– त्यस्तो लेख्न पाए त… ।
हिँड्ने बेलामा भने– केही थियो कि ?
उनीकहाँ प्राय: आउनेहरू अन्त्यमा कुनै लेख्ने काम भन्दा हुन् । त्यसैको बानी परेर सोधे । उनको सरलताको उदाहरण थियो । मैले भने– केही होइन केशवजी केवल भेट्न आएको, धेरै दिनदेखि नभेटेको आज गोपाल फेला परेर आएको । उनी त्यसैले खुसी नै भए होलान् ।
‘एपेक्स’को भानुजयन्ती कार्यक्रममा सँगै बसेर हामी गफ गरिरह्यौं । मैले सुनेको थिएँ, उनको पठनपाठन केही ढिलै थालिएको थियो, बाल्यकालमा । आज उनी एक शीर्षस्थ साहित्यकार छन् । व्रतराज आचार्य, सभाध्यक्ष, र मैले उहाँलाई मिलेर अभिवादन, सम्मान गर्यौं । टीका, दोसल्ला र खाम, जुन लिँदा केशवजीले भन्नुभयो, यो पनि ?’
उद्घाटन मैले गरेको थिएँ पानसमा बत्ती बालेर । त्यसपछि कति परिचित कविका कविता अनि धेरै छात्रछात्राका कविता, यति राम्रो वातावरण बन्यो, तीन घन्टा बितेको पत्तै भएन । भानुभक्तलाई माल्र्यापण त सुरुमै भएको थियो उनीका चर्चा पनि व्रतराजसहित केही जनाले गरे । व्रतराज आचार्य त भानुभक्तका वंशजै भए । व्रतराजको भनाइ थियो, भाषा साहित्यमा लाग्ने एक प्रकारले सबै भानुभक्तका वंशज हुन् । कविताहरूबारे मैले भनेँ, कविताहरू यति सुन्दर थिए कि म निर्णायक भएको भए, सबलाई पुरस्कृत गर्थे तर त्यस्तो सम्भव छैन, आदि ।
मैले भानुसम्बन्धी आफ्नो बाल्यकालको एउटा संस्मरण पनि सुनाएँ । पुरस्कृत कविहरूलाई प्रमाणपत्र र खाम दिएँ, बधाई दिएँ, लेख्न न छाड्ने कुरा त पहिल्यै भनेको थिएँ । राम्रो के पनि देखियो भने, कविता पाठ गर्ने र पुरस्कृत हुने छात्रछात्राहरूमा छात्राकै संख्या बढी थियो, यी भोलि कवयित्रीका रूपमा प्रसिद्ध भए भने पनि आश्चर्य हुँदैन । तिनका कविता त्यति राम्रा थिए । प्रसिद्ध भए भने, आजको यो एपेक्स स्कुलमा भानुजयन्ती मनाएको तिनले पनि सम्झलान्, जसरी म अहिले सम्झिरहेको छु ।
प्रतिक्रिया