देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनामा नेपाली युवाबारे अनभिज्ञ सरकार

देशान्तर


काठमाडौं । करिब ६ महिनाअघि देशान्तरले रुसी सेनामा नेपाली युवाहरूको अवैध भर्ना बारेको समाचार सार्वजनिक गरेको थियो । सरकार र परराष्ट्र मन्त्रालयअन्तगतका सबै संरचनाहरूले रुसी सेनामा नेपालीको भर्नाबारे अनभिज्ञता व्यक्त गर्दै अनदेखा गर्दै आएका थिए ।
समाचार पुष्टि हँुदै गएपछि रुसी सेनामा नेपाली भर्ती हुँदै आएको विवरण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्रकाशित गरेपछि गत १६ साउनमा परराष्ट्र मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी रुसी सेनामा भर्ती नहुन आफ्ना नागरिकलाई आह्वान गरेको थियो ।
तर दःुखद् खबर सरकारले रुसी सेनामा भर्ती नहुन आह्वान गरेको चार महिनापछि भाइटीकाको दिन रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले पुष्टि ग¥यो । गोरखाका एक युवाको झन्डै एक वर्षअघि नै मृत्यु भएर उनको अन्त्येष्टि रुसमा नै गरिएको जनाइएको छ । दूतावासले मंसिर ८ गते विभागलाई पत्र पठाउँदै मृतकहरूको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्न अनुरोध छ ।


युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । हालसम्म चार युवाको मृत्यु भएको भनिएको छ । तर दूतावासले स्याङ्जा पुतलीबजारका प्रितम कार्की, दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेको पुष्टि गरेको हो ।
उनीहरूको मृत्युको खबर टेलिग्राममार्फत नेपाली राजदूतावासलाई प्राप्त भएको थियो । उनीहरूको मृत्यु भएकोमा दुई सातापछि मात्र घटना सार्वजनिक भएको थियो । तीन जना नेपालीको निधन भएको आधिकारिक रूपमा पुष्टि गरिए पनि यसअघि थुप्रै नेपालीको मृत्यु भएको बताइएको छ । हालसम्म कति नेपाली रुसी सेनामा भर्ती भएका छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन । तर यो संख्या १० हजारभन्दा बढी भएको अनुमान गरिएको छ ।


केही घाइतेहरूको उपचार भइरहेको पनि खबर प्राप्त भएको छ । घाइते मध्ये केही त पूर्वमाओवादी लडाकु रहेको जनाइएको छ । नेपाली दूतावास नेपाली युवा रुसी र युक्रेनी सेनामा कसरी भर्ती भइरहेका छन् भन्नेबारे बेखबर छ ।
नेपालीहरू भिजिट भिसामार्फत दुबई गएर त्यहाँबाट मस्को पुगेर रुसी सेनामा भर्ना हुने गरेको खुलेको छ । रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य सेवामा प्रवेश गर्ने जोसुकैलाई एक वर्षपछि रुसी नागरिकता दिलाउने प्रावधान लागू गरेपछि नेपालीको आकर्षण बढेको हो । अवैध भर्ना र अकाल मृत्युवरण गर्न बाध्य नेपाली नागरिकको सुरक्षाका लागि सरकारले कुनै ठोस कदम अहिलेसम्म चालेको छैन । सरकारले नेपालीहरूको सुरक्षा र र उनीहरूलाई नेपाल फर्काउन तत्काल पहल गर्न जरुरी छ । आर्थिक प्रलोभनमा पारेर नेपाली युवालाई रुस पठाइरहेको पाइएको छ ।

पछिल्लो घटनापछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकको संलग्नतासम्बन्धी अध्ययन गर्न मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको छ । समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ । समितिमा वैदेशिक रोजगार शाखाका अधिकृत धनञ्जय यादव र कानुन अधिकृत उषा गौतम रहेका छन् । समितिलाई रुसी सेनामा नेपाली पठाउने भूमिका निर्वाह गर्ने शैक्षिक परामर्शदाता र ट्राभल एजेन्सीको पहिचान गर्नसमेत जिम्मेवारी दिइएको छ । त्यस्तै अवैध रूपमा घरेलु कामदारको लैजाने गिरोहको अध्ययन गर्न समेत दिइएको छ । रुसी सेनामा नेपाली भर्ती हुनु गैरकानुनी हो । नेपाल र रुसबीच यसबारे कुनै औपचारिक सम्झौता छैन ।
रुसको भाडाका लडाकुहरूको समूह वाग्नरका प्रमुख प्रिगोजिनको भने विमान दुर्घटनामा मृत्यु भएको थियो ।