देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम बोल्छु बढी काम गर्छु : देउवा

देशान्तर


काठमाडौं । संघीयता कार्यान्वयनपछि प्रदेश संरचनामा गएको नेपाली कांग्रेसले पहिलो पटक लुम्बिनी प्रदेश सम्मेलन गरेको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हिजो शनिबार सुरु भएको दुईदिने सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले आफ्नो छोटो मन्तव्यको क्रममा आफू कम बोल्ने तर बढी काम गर्ने बताए । उनले कांग्रेसको प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको भनाइ राखे ।
देउवाले निकै छोटो समयमात्रै सम्बोधन गरेर काठमाडौं फर्किएका थिए । लुम्बिनी प्रदेश सम्मेलनमा महामन्त्रीहरू र वरिष्ठ नेता शेखर कोइरालाले बोल्न बाँकी हुँदै सभापति देउवाले आफ्नो भनाइ राखेर बाहिरिएका थिए ।
देउवाभन्दा अघि बोलेका नेता चन्द्र भण्डारीले गत निर्वाचनमा पार्टी सभापति र नेतृत्वले टिकट बाँड्दा गुटका आधारमा बाँडेर टिकट बाँड्दा कांग्रेसलाई ठूलो क्षति भएको विषय उठाए । कांग्रेस महामन्त्री गगन थापाले आगामी चुनावमा हारे पनि कांग्रेस एक्लै लड्नुपर्ने बताए ।
सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता शेखर कोइरालाले आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै लड्नुपर्ने भन्दै त्यसको तयारी थाल्न आग्रह गरे । कोइरालाले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनु नपर्ने बताए ।
उनले निर्वाचनमा समानुपातिक कोटाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । थापाले पार्टीभित्र उम्मेदवार छनोट प्रक्रिया बदल्नुपर्ने बताए ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताए । सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने उनको भनाइ थियो ।
सम्मेलनमा सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यलगायतका नेताहरू र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसहित ६ वटै प्रदेशका सभापतिहरूले सम्बोधन गरेका थिए ।
प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू गरी ७ सय ५० प्रतिनिधिहरूको सहभागिता रहेको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन, आर्थिक प्रतिवेदन माथि गम्भीर छलफल हुने बताइएको छ ।