काठमाडौं । शुक्रवार उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आदेश सुनाएको छ । आदेशमा पुर्व गृहमन्त्री बालकृष्ण खाँणका बारे राय बाझिएको छ ।
गत मङ्सिर ५ गतेदेखि निरन्तर सुनुवाइ गरी शुक्रवार आदेश सुनाउने क्रममा अन्य प्रतिवादीहरूको हकमा न्यायाधीशहरूबिच सहमति भएको छ । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा न्यायाधीश पाण्डेले खाँणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए । न्यायाधीश पाण्डले खाँडलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिँदा सचिव टेकनारायण पाण्डले खाँणको नाम नपोलेको कुरालाई धरौटीमा छाड्नुपर्ने मुख्य आधार बनाएका छन् । तर न्यायाधीश पाण्डेको रायमा अर्का न्यायाधीश प्रकाश खरेलले भने फरक राय दिएका हुन् ।
न्यायाधीश जनक पाण्डेले बालकृष्ण खाँणका विषयमा लेखेको रायमा भनिएको छ,
निवेदक बालकृष्ण खाँणको हकमा विचार गर्दा, जाहेरवाला तथा घटना विवरण कागज गर्ने पिडितहरुले यी निवेदक प्रतिवादी बालकृष्ण खाँणले ठगी गरेको वा निजहरुवाट रकम लिएको भनि यी प्रतिवादीको नाम उल्लेख गरेका छैनन् । प्रतिवादी अधिकार प्राप्त अधिकारी तथा अदालत समक्ष बयान गर्दा अभियोगदावीको कसुरमा पुर्णत ईन्कार रही बयान गरेको देखिन्छ । घटना विवरण कागज गर्ने तत्कालिन अवस्थामा गृह मन्त्रालयमा कार्यरत स्थानिय प्रशासन तथा प्रदेश समन्वय शाखाका प्रमुख शाखा अधिकृत यन्तोष प्रधानले बालकृष्ण पन्थीको कार्यदल्ले तयार पारेको प्रतिवेदन पछिल्लो समयमा मन्त्रीपरिषदवाट फिर्ता आई आफ्नो जिम्मामा रहेको, विभिन्न समयमा उक्त प्रतिवेदन शाखा प्रमुख सागरमणि पाठक, उपसचिव शेखर पौडेल, महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल तथा सचिव टेक नारायण पाण्डेले माग्ने गरेका थिए, के कसरी उक्त प्रतिवेदनको समानान्तर अर्को प्रतिवेदन तयार भयो आफुलाई थाहा नभएको भनि आफ्नो व्यहोरा लेखाएको देखिन्छ ।
प्रस्तुत मुद्धाका सह प्रतिवादी टेकनारायण पाण्डेको वयान समेतवाट यी निवेदक प्रतिवादीले उक्त प्रतिवेदन मागेको अथवा उक्त प्रतिवेदनमा कुनैचासो राखेको देखिदैन । निवेदक प्रतिवादीलाई शुरु जिल्ला अदालतले थुनामा राख्दा प्रस्तुत मुद्दाका प्रतिवादीहरु केशव दुलाल र अर्का प्रतिवादी टेक नारायण पाण्डे विच भएको टेलिफोन सम्वादलाई पनि लिएको देखिन्छ। उक्त सम्वादमा उल्लेख भएको गिफ्ट भनेको रकम हो र उक्त रकम प्रतिवादी केशव दुलालवाट यी प्रतिवादीले लिएको भन्ने दावीका सम्बन्धमा मुद्धा अनुसन्धानका क्रममा वयान तथा ततिम्बा बयान गर्दा प्रतिवादी केशव दुलालले उक्त तथ्यमा ईन्कार गर्दै आफुले प्रतिवादी बालकृष्ण खाँणलाई नभेटेको तथा निजलाई कुनै रकम नदिएको भनि उल्लेख गरेको पाईयो। ततिम्बा वयानमा निज प्रतिवादी केशव दुलालाले टेक नारायण पाण्डेलाई रु १,२५,००,०००। (दिएको भनि उल्लेख गरेको देखिन्छ । प्रस्तुत मुद्धाका प्रतिवादी आङटावा शेर्पाले गरेको घटना विवरण कागज हेर्दा आडटावा शेर्पा प्रस्तुत मुद्धामा पहिला सरकारी साक्षीको रुपमा घटना विवरण कागज गरेको तथा तुरुन्तै पछि प्रतिवादी कायम गरेकोमा अनुसन्धान अधिकारी एवं अदालत समक्ष बयान गर्दा घटना विवरण कागजलाई यातना दिई गराईएको भनि अस्वीकार गरि आफु कसुरमा ईन्कार रही बयान गरेको पाईयो । प्रतिवादी टेक नारायण पाण्डेले प्रतिवादी नरेन्द्र के।सी।लाई सम्बोधन गरी लेखेको चिटमा प्रतिवादी बालकृष्ण खाँणको नाम उल्लेख नभएको तथा उक्त कागज प्रतिवादी टेकनारायण पाण्डेले आफु पक्राउ परेपछि लेखेको भन्ने तथ्य निजको बयान तथा निज बसेको प्रहरीको हिरासतकक्ष खानतलासी गर्दा डायरी तथा पेन बरामद गरेको मिसिल संलग्न बरामदी मुचुल्कावाट देखिन्छ।
यसरी प्रतिवादी बालकृष्ण खाँण विरुद्ध किटानी जाहेरी नपरेको, निज अनुसन्धान अधिकारी एवं अदालत समक्ष कसुरमा ईन्कार रहेको, सहप्रतिवादिहरुले यी प्रतिवादी कसुरमा संलग्न रहेको भनि पोल नगरेको तथा मिसिल संलग्न अन्य तत्काल प्राप्त प्रमाणहरुवाट यी निवेदक प्रतिवादी बालकृष्ण खाँणलाई थुनामा नै राखी मुद्धा पुर्पक्ष गर्नुपर्नेसम्मको आधार, कारण र अवस्थाको विध्यमानता रहेको नदेखिदां निवेदक प्रतिवादी बालकृष्ण खाँणलाई मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्धा पुर्पक्षका निम्ति थुनामा राखे गरि भएको तहां अदालतको मिति २०८०।३।१ को आदेश बेरितको देखिदां बदर गरिदिएको छ । अव यी प्रतिवादीको नाम जाहेरवाला प्रेमराज पन्थीको जाहेरीको पेटवोलीमा उल्लेखसम्म भएको देखिदां पछि प्रमाण परिक्षण र मुल्याङन गर्दै जांदा ठहरे बमोजिम हुने नै देखिदां हाललाई यी निवेदक प्रतिवादी बालकृष्ण खांडलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ १० बमोजिम रु ३०,००,०००। (अक्षरुपी तीस लाख) नगद धरौटी, जमानत वा वैक जमानत लिई तारेखमा राखि मुद्धाको पुर्पक्ष गरी नियमानुसार गर्नु ।
यसैगरी न्यायाधिस खरेलले दिएको रायमा भनिएको छ ,
यसमा उपयुक्त अनुसारका प्रतिवादीहरु मध्ये प्रतिवादी वालकृष्ण खाँण बाहेकका अन्य प्रतिवादीहरुका हकमा माननीय न्यायाधीश श्री जनक पाण्डेबाट भएको आदेश रायसंग सहमत भएको छु । प्रतिवादी बालकृष्ण खाँणका हकमा प्रतिवादी टेक नारायण पाण्डे र केशव दुलाल बिचको mobile message प्रतिवादी नरेन्द्र केसी बाट बरामद भएको प्रतिवादी टेक नारायण पाण्डेले प्रतिवादी नरेन्द्र के।सी।लाई लेखी दिएको कागज, प्रतिवादी आङटावा शेर्पाको घटनाविवरण कागज तथा सह प्रतिवादी टेक नारायण पाण्डेको अधिकार प्राप्त अधिकारी समक्षको मिति ड्ड २०८०÷१÷२७ को ततिम्बा बयान समेतका तत्काल प्राप्त प्रमाणवाट प्रतिवादी बालकृष्ण खाँण अभियोग दाबीको कसुरमा अहिले नै निर्दोष रहेछन भनी विश्वास गर्न मिल्ने मनासिब आधार नदेखिएको हुँदा माननीय न्यायाधीश जनक पाण्डेबाट निज प्रतिवादीलाई मुलुकी फौजदारी संहित, २०७४ को दफा ६८ र ७२ बमोजिम नगद रु. ३०,०००,००(अक्षरुपी तीस लाख धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी भएको आदेशसंग सहमत हुन सकिएन। प्रतिवादी बालकृष्ण खाँणलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०८०/०३/०१ मा भएको आदेश मनासिब देखीदा परिवर्तन गरि रहनु परेन। कानून बमोजिम गर्नु।
प्रतिवादी बालकृष्ण खाँणको हकमा आदेश, राय मतैक्यता हुन नसकेकोले प्रस्तुत फरक राय सहितको निवेदक बालकृष्ण खाँण विपक्षी नेपाल सरकार भएको ०८० Re०२८८ को प्रतिवेदन उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीश समक्ष पेश गर्नु।
न्यायाधीश खरेलले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाँण अहिले नै निर्दोष रहेछन् भनी भन्न नसकिने भन्दै उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका छन् । खाँणको हकमा राय बाझिएपछि अब तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको छ ।
इजलासले दिएको आदेश अनुसार पूर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी ,सचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईसहित नौ जना थुनामै रहने भएका छन् ।
थुनामै रहनेमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, शन्देश शर्मा, आङटावा शेर्पालाई मुद्दा पर्पक्षका निम्ति थुनामा राख्नेगरी भएको जिल्ला अदालतको मिति २०८० असार १ को आदेश मिलको नै देखिँदा परिवर्तन गरिरहनु परेन । कानुन बमोजिम गर्नु’, उच्च अदालत पाटनको आदेशमा भनिएको छ ।
त्यसैगरी प्रतिवादी रामशरण केसी , नरेन्द्र केसीसँग १० लाख, हरिभक्त महर्जनसँग १५ लाख, धरौटी माग गरिएको छ । शमशेर मियाँ १० लाख, रामशरण केसी १५ लाख धरौटीमा रिहा हुनेछन् । टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि ३० लाख धरौटीमा रिहा हुनेछन् ।
लक्ष्मी महर्जन ,आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव तुलाधरलाई भने साधारण तारेखमै रिहा गर्न आदेश दिएको छ । उच्च अदालत पाटनको आदेशअनुसार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल १५ लाख धरौटीमा रिहा हुनेछन् । उनी भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको भन्दै रिजाललाई थुनामा राखी राख्नुनपर्ने उच्च अदालतले भनेको छ ।
काठमाडौं जिल्ला अदालतले असार १ गते उक्त प्रकरणमा पक्राउ परेकामध्ये दुईजनाबाहेक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
पुर्पक्षका लागि थुनामा रहेका १६ जनाले जिल्ला अदालत काठमाडौंको बेरितको आदेश बदर गरिपाउँ भनी निवेदन दिएका थिए । शुक्रवार आदेश भए पनि धरौटी बुझाएर प्रकृया पुराएर आइतवार मात्र उनिहरु रिहा हुनेछन् ।
प्रतिक्रिया