देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसको भविष्य




विगत एक वर्षदेखि मुलुक दिशाहीन अवस्थामै जकडिएको छ । देशलाई समृद्धि गन्तव्य उन्मुख तुल्याउने जिम्मेवारी पाएका नेताहरू आफ्नो दुनो सोझ्याउन अस्तव्यस्त छन् । भीमकाय भ्रष्टाचार काण्ड, प्रायः सबै प्रकारका सरकारी खरिदमा हुने घोटाला तथा कुनै पनि निर्माणसम्बन्धी प्रस्तावित अथवा समय अवधि थपिने आयोजना हुने कमिसनको चलखेलजस्ता कार्यले नेतृत्व पंक्तिको दैनिकी समय खर्लप्पै खाएको हुन्छ । बचे कुचेको समय दलीय व्यवस्थापन, सभा सम्मेलन उद्घाटन, नवनिर्माण शिलान्यास, बिरलै कार्यान्वयन गरिने निर्देशन, पूरा गर्न नपर्ने प्रतिबद्धता जाहेरजस्ता कार्यतालिकाका अतिरिक्त स्वदेश विदेश भ्रमण कार्यक्रम व्यस्तता थपिने गर्छ । उ

ल्लेखित कार्य व्यस्तताकै कारणले गर्दा तिनलाई सर्वसाधारणको दैनिकी तथा देशका सामुन्ने आइपरेका चुनौतीहरूका विषयमा सोचविचार गर्ने समयको चरमचरम अभाव हुन्छ । नागरिकसँग संवादले प्राथमिकता पाउने कुरै भएन । नागरिक विशेषगरी मतदाताले नेताको मूल्यांकन गर्छन् । सार्वजनिक गरेका मात्र होइन निर्वाचनपूर्व आफ्नै घरआँगनमा आएर दुई हात जोरेर जाहेर गरेको प्रतिबद्धतालाई मतदाताले कसरी बिर्सने ? आफूसँग गरेको प्रतिबद्धतालाई थातीमा राखे पनि राष्ट्रलाई “एक थोक भन्ने गर्ने अर्कै थोक” अनि “घरीघरी बचन बदल्ने” नेताहरूलाई कसरी विश्वास गर्नु ? यिनै कारणहरूले गर्दा स्थापित अधिकांश नेताले जनविश्वास गुमाएका हुन् । उदेक लाग्ने चाहिँ गुमेको जनविश्वास पुनर्बहाली गर्ने अग्रसरतासमेत उनीहरूले देखाउन नचाहनु हो । नेता विशेषगरी शीर्षस्थ नेताले मात्र जनविश्वास गुमाएको भए टाउको दुखाउन पर्ने थिएन । उनीहरूसँगै सती तिनको दल जान्छ । नेपाली नागरिकले नेताको गल्तीलाई समग्र दलले गरेको गल्ती ठहर गर्ने गर्छन् । नेताले भने आफूले गर्दा दलको छवि धमिलिएको वास्तविकतालाई आत्मसात् गर्न सक्दैनन् ।


नेपाली कांग्रेस दलको अवस्था रोचक तथा सोधकार्यका निमित्त उपयुक्त छ । विगतका निर्वाचन परिणामलाई नियाल्ने हो भने बढ्दो मतदाता संख्याको दाँजोमा कांग्रेसले प्राप्त गरेको मतदाता घट्ने क्रममा छ । निर्वाचन नतिजाहरूले दलले गुमाउँदै गरेको लोकप्रियता देखाउँछ । अर्कोतर्फ दल सदस्य संख्या अर्थात् दलमा आबद्ध हुने नागरिक संख्या भने बढ्ने क्रममा छ । अलोकप्रिय हुँदै जाने तर आबद्ध हुन चाहनेको संख्या बढ्ने ? यथार्थको अर्को पाटो के पनि हो भने अन्य स्थापित दलका उदीयमान नेताहरूको दाँजोमा तिनका दौंतरी कांग्रेस नेताहरूको स्थिति उत्साहजनक छ । उदीयमान नेताहरूमध्ये कांग्रेस नेताहरू बढी लोकप्रिय छन् । तिनलाई नागरिकले बढी भरोसा गर्छन् । संक्षिप्तमा भन्नुपर्दा बहुसांख्यिक देशवासीका उदीयमान कांग्रेस नेताबाट भविष्य सुध्रने अथवा “केही हुने” विश्वास गर्छन् ।


नेपाली राजनैतिक धरातलमा आमूल परिवर्तन नहुन्जेलसम्म कांग्रेसको विकल्प कम्युनिस्ट हुन् । दुई प्रमुख कम्युनिस्ट घटक (एमाले तथा माओवादी) मिलेको खण्डमा तिनले बहुमत प्राप्त गर्ने प्रबल सम्भावना छ । उनीहरू एकीकृत नभएको खण्डमा भने कांग्रेसले प्राप्त गर्ने मत बढी हुन्छ । दुवै दलका आदर्श पुरुष हुन् प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद ओली । कम्युनिस्ट कार्यकर्ताका निमित्त यी दुई महान् पथप्रदर्शक हुन् । तिनको देखा सिको गर्नु आदर्श हो । त्यसकारण तिनले पहिल्याएको मार्ग पछ्याउनु स्वाभाविक हुन्छ । आदर्श पुरुषले प्राप्त गरेको समृद्धि आफूले पनि हासिल गर्न उनीहरू लालायित हुन छन् । किनकि तिनका निमित्त सफल जीवनको द्योतक हो अध्यक्ष खड्गप्रसाद ओली तथा पुष्पकमल दाहालको जीवनी । दुवै महापुरुषहरूको जीवनशैलीको अनुकरण गर्न कुन कम्युनिस्ट कार्यकर्ताले चाहँदैनन् होला ? नेताको जीवनशैली अनुकरण गर्ने प्रयासमा अधिकांश कम्युनिस्टहरू कमाउनिस्टमा रूपान्तर भएका छन् । उक्त जीवनशैली प्राप्तिका निमित्त उनीहरू मरिहत्ते गर्नुको पछाडि राज्य प्रणालीमा रजगज गर्नु हो नेताले जस्तै गरेर ।


कम्युनिस्टपछि दोस्रो विकल्प हो निर्दलीय व्यवस्थाका पृष्ठपोषक पूर्वपञ्चहरूले गठन गरेका दल(हरू) । इतिहास साक्षी छ राणाशासनको पतन निश्चित भएपछि शासकले आठपहरिया तथा भाइभारदारको सहभागितामा “खुकुरी दल” गठन गरेका थिए । उक्त दलको एकल उद्देश्य थियो राजधानीमा अराजकता मच्चाएर श्री ३ को शासन वापस गर्नु । कालान्तरमा उक्त दल गोर्खा परिषद्को रूपमा प्रकट भयो । गोर्खा परिषद्को पहिचान राष्ट्रवादी तथा कट्टर हिन्दु धर्म रक्षकको थियो । त्यस कालखण्डमा सत्तासीन राणा परिवार सदस्यहरू राजनैतिक दलको नेतृत्व सम्हाल्ने तथा व्यवस्थापन गर्ने क्षमता राख्दैनथिए । त्यसकारण प्रधानमन्त्री श्री ३ महाराज मोहनशमशेर जंगबहादुर राणाले भारतबाट नेपाली मूलका क्रिश्चेन धर्मावलम्बी व्यक्तिलाई उक्त दलको नेतृत्वको अभिभारा सुम्पिए । इतिहास दोहरिँदैछ राजाका दरबारिया आठपहरिया तथा भारदारहरू “राजावादी’ मा परिणत भएका छन् । उनीहरू देशलाई हिन्दु राष्ट्र घोषित गर्न व्यग्र छन् । रामनामी पीताम्बर पहिरेर देशको धार्मिक तथा जातीय सन्तुलन खल्बल्याउन आक्रामक रूपमा लागिपरेका छन् । धर्म निरपेक्ष घोषित राष्ट्रलाई पुनः हिन्दु राष्ट्रमा परिणत गर्न यी महान् राष्ट्रवादी शक्ति नरेन्द्र मोदी तथा योगी आदित्यनाथको पोल्टामा पुगेर भारतीय हस्तक्षेपबाट देश तथा धर्म बचाउन राजाको पुनः आगमन सपनामा माग्न छन् ।


राष्ट्रमा व्याप्त नैराश्य तथा राजनैतिक क्षितिजमा देखा परेको रिक्तताको पूर्ति गर्न “तेस्रो शक्ति” को रूपमा प्रकट भएका छन् लोकरिजाई (पपुलिस्ट) वादीहरू । एकाईसांै शताब्दीको विशेषता नै हो राष्ट्रमा व्याप्त नैराश्यलाई आफ्नो पक्षमा पार्न अथवा “क्यापिटलाइज” गर्न सफल हुँदै छन् पपुलिस्टहरू । निर्वाचनको माध्यमबाट सर्वसाधारणको मन छुने नारा लागेर निर्वाचन हुने पपुलिस्टको लहर विश्वव्यापी भएको छ । पपुलिस्ट नेताहरूको अग्रपंक्तिमा पर्छन् भेनेजुएलाका ह्युगो साबेज, इटालीको सिलभइयो बेरुसिलानो, हंगेरीको भिक्टर वाराबन, टर्कीको यार्डोगान, भारतका नरेन्द्र मोदी, पाकिस्तानका इमरान खान, अमेरिकाको डोनाल्ड ट्रम्प, फिलिपिन्सको जोजेफ स्टिडार, ब्राजिलको जैयर बोल्सानारो, श्रीलंकाको माहिन्द्र रजपक्ष तथा हालै अर्जेन्टिनाको निर्वाचित राष्ट्रपति हाबियर मिलाई । बितेका, पद विस्थापित भएका तथा सरकारमा निरन्तरता दिन सफल सबै पपुलिष्टहरू बीचको समान गुण भनेको सत्ता प्राप्तिपछि उनीहरू फासिस्ट हुने प्रवृत्ति हो । निर्वाचित भएपछि उनीहरूले देशलाई निकास दिनेभन्दा बढी दलदलीमा फसाउने गरेको फेहरिस्त लामो छ । नेपालमा, व्यक्तिगत हैसियतमै काठमाडौं महानगरपालिका मेयर बालेन साह तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ पपुलिस्ट नेताको उत्कृष्ट उदाहरण हुन् । राजनैतिक दलको रूपमा प्रकट भएको पपुलिस्ट दल राष्ट्रिय स्वतन्त्र पार्टी हो । पूर्व उपप्रधानमन्त्री तथा उक्त दल अध्यक्ष विश्व स्तरकै पपुलिस्ट नेता हुन् ।


वर्तमानमात्र होइन निकट भविष्यका निमित्त लोकतन्त्रमा विश्वास गर्ने नागरिकका निमित्त नेपाली कांग्रेसको विकल्प भनेको आगो माथिको तातो तावाबाट आगोमै हाम फाल्नु सरह हो । कांग्रेस दल गतिशील छ । समयको मागअनुसार यो दल परिवर्तन हुँदै आएको छ । नेतृत्वले विगतका गल्तीबाट पाठ नलिने हो भने दल सिमान्तकृत तथा असान्दर्भिक हुने निश्चित छ । यदि नेपाली कांग्रेसले विगतको अभ्यासबाट शिक्षा लिन चुक्ने कार्यलाई निरन्तरता दिने हो भने कांग्रेसको मात्र होइन राष्ट्रको लोकतान्त्रिक भविष्य वास्तवमै खतरामा पर्नेछ । बल नागरिकको विश्वास आर्जन गर्न सफल भएका सीमित संख्याको कांग्रेस नेताहरूको कोर्टमा छ । उनीहरू होसियार भएनन् भने कांग्रेस त धरातलबाट लोप हुने नै छ भने देशको लोकतन्त्र तथा समृद्धिको सपना धरापमा पर्ने जोखिम उच्च छ ।