देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोप–२८मा सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने छ : ‘प्रचण्ड’

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा पुगेर शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
नेपाल पर्वातरोहण सङ्घले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए ।
उनले कोप–२८मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका हुन् । यही मङ्सिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा कोप–२८ सम्मेलन आयोजना हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा हुने सम्मेलनमा राष्ट्रिय अनुकूलन योजनाको विस्तृत रुप, राष्ट्रिय निर्धारित योगदानमा आधारित कार्यान्वयन योजना र कोप–२८ को एजेण्डाका बारेमा छलफल हुनेछ । उच्चस्तरीय सत्रलाई मङ्सिर १६ गते प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

सोलुखुम्बु पुगेका प्रधानमन्त्री प्रचण्डलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा पुग्ने सडकलाई राष्ट्रिय योजनामा पार्न माग गरेको छ । शनिवार त्यस क्षेत्रमा पुगेका प्रचण्डलाई गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् ।

हवाई यातायातको भर पर्नु परेकोले त्यस क्षेत्रमा यातायातको सहज पहुँचको लागि प्रदेश सरकारसँग सहकार्य गरी पालिका केन्द्रसम्मको सडक ट्र्याक ओपन कार्य द्रुत गतिमा भइरहेको जानकारी गराउँदै सगरमाथा क्षेत्र जोड्ने सो सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।
ज्ञापन पत्रमा संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटेरसले हालै गरेको खुम्बु क्षेत्रको भ्रमणमा तापक्रम बढ्ने, हिमताल पग्लने र त्यसले जनतालाई पु¥याउने हानी नोक्सानीको कुरालाई गम्भीरतापूर्वक लिएको उल्लेख गरिएको छ । प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रको विकास तथा विस्तार, व्यवस्थित पर्यटकीय गतिविधि सञ्चालन, सगरमाथाको सुरक्षा र सफाइलाई प्रभावकारी रुपमा लैजान सरोकारवालाको सहभागितामा आवश्यक कार्यविधि बनाइने विश्वास दिलाए ।