काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँका शोभाभगवतीमा आयोजित कार्यक्रममा उनले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताए ।
उनले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको बताए । नेता सिंहले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको स्मरण गर्दै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको बताए ।
वर्तमान सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको दाबी गर्दै उनले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसार नै गठबन्धन अघि बढ्ने विश्वास व्यक्त गरे । उनले जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल बनाउन सबै राजनीतिक दल क्रियाशील हुनुपर्ने बताए ।
सो अवसरमा नेता सिंहलगायत कांग्रेसका नेता, कार्यकर्ताले गणेशमानको सालिकमा माल्र्यापण गरेका थिए ।
प्रतिक्रिया