काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशमलाल चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको हो ।
गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।
यस अघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको थियो । राष्ट्रपति कार्यालयबाट चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारणसहितको जवाफ सर्वोच्च अदालतमा पेश गरेपछि आज कात्तिक २३ गतेका लागि पेशी तोकिएको थियो ।
प्रतिक्रिया