काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले अबको लगानी जलविद्युतकेन्द्रित हुनुपर्ने बताएका हुन् । नेपालको बिजुली भारत र बंगलादेशमा निर्यात हुने भन्दै उनले यो क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी बढाउन सक्ने उल्लेख गरे ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ३७औँ क्यासी सम्मेलनमा उनले जलविद्युतसँगै आईटी र पर्यटन क्षेत्रमा पनि लगानी बढाउन आह्वान गरे ।
प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिने उनले विश्वास व्यक्त गरे । सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उनले आग्रह गरे।
राष्ट्रपति पौडेलले शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरूलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरूलाई अपिल पनि गरे । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको बताए । सम्मेलनमा दुई दर्जनभन्दा बढी लगानीकर्ता सहभागी छन् ।
प्रतिक्रिया