देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्मृति _गुणदेव भट्टराई



काठमाडौ । म त्रिचन्द्र कलेजमा शिक्षक भएर जाँदा लगभग सबै अग्रज थिए । पछि मात्र मभन्दा कनिष्ठ आएका थिए । मैले प्रवेश गर्दा प्रायः सिनियरहरू नै थिए । धेरै शिक्षक नाउँ चलेका थिए । नेपालीमा मेरा गुरुहरू नै अहिले मेरा सहकर्मी भएका थिए । जुनसुकै विभागका भए पनि एउटै कलेज हुनाले परिचित नै हुन्थे । म तिनलाई हालचाल ठीक छ भनेर सोधेर छुट्टिन्थेँ ।
तिनै शिक्षकमध्ये एक थिए, गुणदेव भट्टराई । गुणदेव भट्टराईलाई मैले अन्त्यमा यसकारण उल्लेख गरे कि उनलाई म अत्यन्त भलादमी र सहयोगीका रूपमा मान्दथे ।
उनी इतिहासका विद्वान थिए र इतिहासको प्राध्यापक गर्दथे । राम्रा शिक्षक थिए । विद्यार्थीहरू पनि उनीलाई मान्दथे । त्रिचन्द्रका धेरै शिक्षकलाई म चिन्दथेँ केहीसँग घनिष्टता पनि थियो । ठट्टा आदि पनि चल्दथ्यो । विभिन्न विभागका शिक्षक बस्ने कोठा नजिकनजिक थियो । भरेङ एउटै थियो भेट भइहाल्थ्यो नमस्ते गर्न र हालचाल सोध्न र केही छ भने अन्य एकदुई कुरा पनि गर्न भ्याइन्थ्यो कहिलेकाहीँ सँगै चिया पनि खाइन्थ्यो । तर मैले भलाद्मी व्यक्तिका रूपमा मान्ने व्यक्ति थोरै मात्र थिए । तिनैमध्ये रोहिणी गुरु थिए । मेरा शिक्षक र अब उनीसँगै म पनि त्यहीँ विभागमा काम गर्दथेँ ।
अर्का थिए गुणदेव भट्टराईजी । गुणदेव भट्टराईसँग दोहोरो वा लामो कुराकानीसमेत हुँदैनथियो । तै पनि म उनीबाट प्रभावित थिएँ । हालै जयदेव भट्टराईबाट थाहा पाएँ, गुणदेवजी चार दाजुभाइ हुन् । सबै नाउँ चलेका आआफ्नो क्षेत्रमा । दुईजनालाई त म चिन्दथेँ पनि । केशवदेव भट्टराई म्याथका प्राध्यापक हुन् । एउटा अर्काे कुरा पनि छ मेरो कोलम्बो प्लान स्करसिपको अन्तर्वार्तामा विशेषज्ञका रूपमा एकजना केशवदेव भट्टराई पनि थिए । अर्का नन्ददेव भट्टराई त वीरगन्जमा अञ्चलाधीश भएर गएका बेला उनीसित र उनको परिवारसितै परिचित भएको थिएँ ।
यी सब हुँदाहुँदै पनि गुणदेव भट्टराईसित म बढी प्रभावित थिएँ । अहिले लेख्दालेख्दै सम्झेँ रोहिणी गुरु पनि त भट्टराई नै थिए । यो मैले जयदेवसँग सोध्न पाएका छैन, रोहिणीप्रसादसँग नाता थियो कि थिएन । म त गुरु सुरुमै थिए, त्यहाँका अन्य शिक्षकहरूसित भेट्दा । त्यसकारण सबैका बारेमा धेरै जान्दिनथिएँ । अहिले थाहा पाएँ, गुणदेवजी स्कुलमा शिक्षक भए पनि त्रिचन्द्रमा भने त्यही सालमा आएका रहेछन् जुन सालमा मैले पनि ज्वाइन गरेको थिएँ । महिनाको फरक होला तर त्यो खास महत्वपूर्ण रहेन ।
क्रमशः हाम्रो भेटघाटचाहिँ बढ्दै गयो । टर्मिनल परीक्षामा निरीक्षक बस्दा होस् अथवा भवनको बार्दलीमा जाडो याममा घाम ताप्दा होस् केही कुराकानी भाइहाल्थ्यो । तर गुणदेवजी गम्भीर प्रकृतिका थिए र सम्भवतः कक्षामा बाहेक मित भाषी पनि । त्यसले गर्दा त्यतिसारो घनिष्टता चाहिँ हुन पाएन । तर उहाँको सज्जनताले उहाँप्रतिको आदरमा भने वृद्धि नै भइरह्यो ।
म पढाइ पनि रहेको थिएँ, र लेखन पनि केही प्रकाशित हुन थालेको थियो । रूपरेखा पत्रिकामा मेरा कविता र कथाहरू पनि प्रकाशित भइरहेका थिए । त्यतिमात्र होइन, मेरो पहिलो उपन्यास ‘अन्त्यपछि’ रूपरेखामा सम्पूर्ण रूपमा प्रकाशित भइसकेको थियो, जब मैले त्रिचन्द्रमा प्रवेश गरेको थिएँ । रूपरेखा त्यसबखतको एक प्रमुख पत्रिका थियो । त्यसले गर्दा मेरा विद्यार्थी र मेरा सहकर्मी शिक्षकहरू पनि परिचित भएका थिए । म कलेज प्रवेश गर्दा मेरो भर्खरको लेखकीय रूपमा पनि सँगै थियो ।
त्यसबाहेक मेरा विद्यार्थीहरू पनि मलाई माया गर्दथे, त्यो पनि अन्य शिक्षकहरूलाई थाहा हुँदो हो । मेरो पढाउने तरिका अलिक फरक थियो, मेरा विद्यार्थीलाई यसको ज्ञान थियो
यस्तैमा एकदिन गुणदेव भट्टराईसँग भेट भयो । तर त्यसदिन अन्य दिनभन्दा फरक गुणदेवजी भलाकुसारी मात्र सोधेर अघि बढेनन् । उनी टक्क अडिएर भने, तपार्र्इंलाई एउटा कुरा सोध्नु थियो । म पनि अडिएँ, गुणदेव भट्टराईले यसरी पहिलो पटक भनेका थिए । मनमा उत्सुकता उम्रो के सोध्न आँटे ।
गुणदेवजीले भने ट्युसन पढाउनु हुन्छ ?
त्यस बखत मेरो अवस्था ट्युसन पढाउनै पर्ने किसिमको थियो । म पढाउँथेँ । त्यसकारण मैले भने पढाउँछु सर ।
एउटा प्राइभेट जाँच दिने महिलालाई आईएमा नेपाली पढाउनु छ तर घरमै जानुपर्ने हुन्छ ।
‘जान्छु । मैले भने कहाँ पुग्नुपर्नै ? महाराजगन्ज ।
टाढा रहेछ तर म जान्छु । मैले भने । डा. सच्चेकुमार पहाडीको नाउँ सुन्नु भएको छ ?
सुनेको छु ।
उनकै श्रीमती साबी पहाडीलाई पढाउनु पर्ने ।’
मैले स्वीकार गरेँ । गुणदेवजी साबी पहाडीलाई इतिहास पढाउँदा रहेछन् । नेपालीको खोजी हुँदा उनले मेरो नाउँ सुझाएका थिएँ ।
गुणदेवजीले लगेर परिचय गराइदिए । त्यसपछि म पढाउन थालेँ । साबी पहाडीले मसित आईएमात्र होइन, बीएको ट्युसन पनि पढिन् । डा. सच्चेकुमारसँग पनि घनिष्टता भयो ।
डा. पहाडीको जीवन कालभरि निकटता रह्यो । डा. पहाडीको निधनपछि साबी पहाडीसँग अहिलेसम्म निकट सम्बन्ध छ । प्रत्येक गुरुपूर्णिमामा उनी मलाई सम्झिन्छिन् । उनी आध्यात्म र समाजसेवामा सम्झिराख्ने धार्मिक प्राकृतिकी महिला हुन् । उनीहरूको मित्रता मलाई सधैं महत्वपूर्ण रह्यो । यति लेख्नको कारण यी बसको मूलमा गुणदेव भट्टराई नै त थिए । त्यसका लागि मैले पहिले नै उनीलाई कृतज्ञता प्रकट गरेको थिएँ । गुणदेव अथवा पहाडी आदिसँगको सम्बन्धलाई हेरेरै म भन्न सक्छु, आर्थिकबाट थलिए पनि सबै सम्बन्ध आर्थिक हुँदैनन् । त्यभन्दा माथिका हुन्छन् ।
गुणदेव भट्टराईसँगको सम्बन्ध केवल सद्भावनामा आधारित छ ।
कतिपटक मलाई लाग्दथ्यो, गुणदेवजीको भलाद्मीपन ममा पनि आए हुन्थ्यो । यसले उनीबाट प्रेरित थिएँ भन्ने बुझ्न सकिन्छ । पिताकै गुण जयदेव भट्टराईमा आएको छ कति आएको छ त्यो भन्न सक्दिनँ । जयदेव भट्टराईको साहित्यिक व्यक्तित्व स्थापित छ । राम्रो सम्बन्ध छ । तर मलाई यो ज्ञान थिएन जयदेव भट्टराईका सुपुत्र हुन् । म जयदेवलाई यतिमात्र जान्दथे । कुनै दाजुभाइका छोरा । जयदेवसँग मेरो बेग्लै घनिष्ट सम्बन्ध छ । जब उनी किरियामा बसेका थिए, म उनका लागि गएको थिएँ । विडम्बना हेरियोस्, त्यसै समयमा मात्र मलाई ज्ञान भयो जयदेव मैले सदैव मान्दै आएको व्यक्तित्व गुणदेव भट्टराईका सुपुत्र हुन् ।
कहिलेकाहीँ यस्तो हुँदो रहेछ, कमेडी अफ एरर्स भन्नु कि मिस्टीकेन आइडोस्ट्रीको कथा भन्नु ?
जे होस् श्री गुणदेव भट्टराईको शतकीय प्रकाशनको हिस्सा बन्न पाएकामा म उनीसँगको सम्बन्धलाई आफूले आद दिएको ठान्दछु ।