देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महासमितिमा एजेन्डाको विवाद

देशान्तर


काठमाडौं । २०७८ मंसिरमा नेपाली कांग्रेसको १४औं महाधिवेशन हुँदा कार्यसमिति मात्रै चयन गरिएको थियो भने पार्टीको नीतिका विषयमा एक वर्षभित्र नीति अधिवेशन गर्ने सहमति भएको थियो । तर, नेपाली राजनीतिमा समयमा काम नगर्ने परिचय बनाएको कांग्रेसले १४औं महाधिवेशनका बेला घोषणा गरेको नीति अधिवेशन त गरेन नै, अहिले महासमितिको बैठक भने बोलाएको छ । मंसिर १३, १४ र १५ गते हुने तोकिएको ( हाल मिति परिवर्तन गरिआउँदो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको ) महासमितिको बैठकका लागि नेपाली कांग्रेसले तयारी सुरु गरिसकेको बताए पनि एजेन्डाका विषयमा भने सहमति हुन सकेको छैन । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले संघीयता, धर्मनिरपेक्षता लगायतका कुराहरूमा एजेन्डाका रूपमा ल्याउनुपर्ने जोड दिँदै आएको छ भने संस्थापन पक्षले अहिलेको अवस्थामा यी कुराहरूमा छलफल गर्दा गठबन्धनमै असर पर्ने भएकाले यसमा छलफल नै गर्न नचाहेको बुझिएको छ ।


अहिले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाले जति नै पार्टी एक ढिक्का भएको भनेर दाबी गरे पनि कोशी सरकार गठन पछाडि डा. शेखरसँग उनको सम्बन्ध राम्रो छैन । यस्तोमा मंसिरमा बस्न लागेको महासमितिको बैठक आउन १ महिना बाँकी नहुँदा पनि एजेन्डाहरूका विषयमा छलफल हुन नसकेको हो । कतिले पार्टीको विधान संशोधन गर्नुपर्ने आवाज उठाए पनि अहिलेको अवस्थामा विधान संशोधन नगर्ने विषयमा मोटामोटी सहमति भने भएको बुझिएको छ ।
महासमिति बैठकका लागि सभापति देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको थियो । समितिमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू, काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापति तथा भ्रातृ संस्थाका अध्यक्षहरू सदस्य छन् । महासमिति बैठकका लागि अब एक महिनामात्रै बाँकी छ । तर सभापति देउवाले मूल आयोजक समितिको बैठक नै राख्न पनि सकेका छैनन् ।