काठमाडौं । बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा पेश भएको छ । अर्थमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उक्त विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् ।
चेक अनादरसम्बन्धी व्यवस्थालाई संशोधन गर्न ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ १६ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।
विधेयकको विरोधको सूचनाका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले बैंक तथा वित्तीय कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन विधेयक ल्याइएको बताए ।
यस्तो कार्यउपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी तथा सरलीकरण बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक आवश्यक रहेको उनले बताए ।
सांसद प्रेम सुवालले दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि चेक अनादरसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश भएको हो ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटरेसले मंगलबार दिउँसो ४ बजे दुबै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।
गुटरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि औपचारिक पोशाकमा सांसदहरुलाई उपस्थित भइसक्न सभामुख घिमिरेले अनुरोध गरेका छन् ।
प्रतिक्रिया