देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ

देशान्तर

बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ
काठमाडौं । बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता आइतबार बिहान पक्राउ परेको सो दलले बताएको छ । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो ।

बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन् । ढाका मेट्रोपोलिटन प्रहरीका प्रवक्ता फारुक हुसेनले उनको गिरफ्तारीबारे आफूलाई जानकारी नभएको बताए ।
बीएनपीका अध्यक्ष तथा दुई पटक प्रधानमन्त्री बनेकी खालिदा जियालाई पक्राउ गरेर जेल सजाय दिइएपछि र उनका छोरा बेलायतमा निर्वासनमा परेपछि बीएनपीका महासचिव ७५ वर्षीय आलमगिरले पार्टीको नेतृत्व गर्दै आएका छन् । सन् २०२० मा १७ वर्षको जेल सजायबाट रिहा भएपछि जिया नजरबन्दमा बस्दै आएका छन् ।

प्रदर्शन स्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार बीएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीले शनिबार गरेको विरोध प्रदर्शन यस वर्षको अहिलेसम्मको सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताएका छन् । साथै आगामी जनवरीमा हुने आम निर्वाचनभन्दा अघि भएको उक्त विरोध प्रदर्शन नयाँ चरण भएको बताइएको छ ।

बङ्गलादेशका दुई प्रमुख विपक्षी पार्टीका एक लाखभन्दा धेरै समर्थकले एउटा तटस्थ सरकार मातहत स्वतन्त्र र निष्पक्ष मतदानको अनुमति दिनका लागि प्रधानमन्त्री शेख हसिनालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध प्रदर्शनमा भाग लिएका थिए ।

बङ्गलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन । उनको सरकारमाथि भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।

हिंसाको विरोधमा बीएनपी र जमात–ए–इस्लामी दुवै पार्टीले आइतबार देशव्यापी हडतालको आह्वान गरेका छन् । आइतबार राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ र हजारौँ प्रहरी र अर्धसैनिक सीमा सुरक्षा फौजले बङ्गलादेशको सडकहरूमा गस्ती गरिरहेका छन् ।