देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्री बीच भेट

देशान्तर


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण पूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको आशय प्रतिबिम्बित टिप्पणी भएको छ । विश्वका दुई माहशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाका बीच यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
ह्वाइट हाउसले जनाए अनुसार राष्ट्रपति बाइडेनले संयुक्त राज्य अमेरिका र चीन दुबैले आपसी सम्बन्धमा प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक ढङ्गले व्यवस्थापन गर्न र सञ्चारको ढोका खुला राख्न आवश्यक रहेको कुरामा जोड दिनु भएको छ । उहाँले संयुक्त राज्य अमेरिका र चीनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेट दुई देशबीचको उच्चस्तरीय सम्पर्कको शृङ्खलामा सबैभन्दा पछिल्लो खुट्किलो हो । पछिल्लो समय दुई देशबीच बढ्दो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने सम्भावना खोजिरहेको देखिन्छ ।
राष्ट्रपति बाइडेन र मन्त्री वाङ बीच ह्वाइट हाउसको रुजवेल्ट कक्षमा भएको सो भेटवार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान पनि उपस्थित थिए । प्रवक्ता जोन किर्बीले बताए अनुसार बाइडेनले बैठकलाई सकारात्मक भन्दै वार्ता जारी राख्ने राम्रो अवसरको रूपमा हेरेका छन् ।
यद्यपि, बेइजिङले अर्को महिना हुने वार्षिक एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका लागि सान फ्रान्सिस्को जाने वा नजाने बारे स्पष्ट पारेको छैन ।
यसअघि चीनका राष्ट्रपति सी चिनफिङले विश्व शान्ति र विकासमा अमेरिका–चीन सम्बन्धको प्रभावलाई उद्धृत गर्दै बेइजिङ वाशिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उनले विभिन्नतालाई राम्ररी व्यवस्थापन गर्न, एकअर्काको प्रगतिमा योगदान पु¥याउन र साझा समृद्धिको दिशामा अघि बढ्न बेइजिङ तयार रहेको बताएको सिन्ह्वाले जनाएको छ ।
अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिको वार्षिक गाला डिनरमा दिइएको बधाइ सन्देशमा राष्ट्रपति सीले दुई देश बीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानका लागि समितिको लामो समयदेखिको समर्पणको प्रशंसा गर्नुभएको पनि सिन्ह्वाले उल्लेख गरेको छ ।
दुई देश बीचको तनाव उच्च रहेको अवस्थामा मन्त्री वाङ वाशिङ्टन गएका हुन् । यस भ्रमणका क्रममा उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण र पूर्वी र दक्षिण चीन समुन्द्रमा चीनको थप दृढतापूर्ण कारबाही लगायतका विषयमा पनि कुराकानी केन्द्रित भएको बताइएको छ । रासस