काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाली टिम १७३औँ स्थानमा छ । नेपाल यसअघि वरीयताको १७५औँ स्थानमा थियो । नेपालले अक्टोबरको फिफा विन्डोमा विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओससँग खेलेको थियो । दुई लेगमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा नेपालले १–१ को बराबरी खेल्दा दोस्रो लेगमा लाओसलाई उसैको मैदानमा १–० ले हराएको थियो ।
यही जितका कारण नेपालले वरीयतमा १० प्वाइन्ट थप गर्दै दुई स्थान सुधार गरेको हो । नेपाल १७५औँ स्थानमा रहँदा ९५३.८५ प्वाइन्ट थियो । हाल नेपालको प्वाइन्ट ९६३.८२ छ । फिफाको वरीयताअनुसार दक्षिण एसियामा भारत १०२औँ स्थानमा छ । माल्दिभ्स १६१औँ, भुटान १८२औँ, बंगलादेश १८३औँ, पाकिस्तान १९३औँ र श्रीलंका २०२औँ स्थानमा छ ।
प्रतिक्रिया