देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार

देशान्तर


काठमाडौं । बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् ।
समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर २२ पुगेको जानकारी दिए ।उनका अनुसार घाइतेहरूको उपचारका लागि सेन्ट्रल माइन वरपरबाट उद्धार सवारी साधन पुगेका थिए र दुई लेविस्टन अस्पतालले उनीहरूको उपचारका लागि बिदामा बसेका सबै कर्मचारीलाई बोलाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज भइरहेका बेला राष्ट्रपति जो बाइडेनले माइनका गभर्नर, दुई सिनेटर र एक स्थानीय काङ्ग्रेसका सदस्यलाई फोन गरेर सङ्घीय सहयोग प्रस्ताव गर्न आग्रह गरेकोे ह्वाइट हाउसले बताएको छ । स्थानीय प्रहरीले बलिङ एल्लीभित्र अर्ध–स्वचालित हतियार लैजाँदै गरेका एक बन्दुकधारीको फोटो फेसबुकमा पोस्ट गरेको छ ।

पछि प्रहरीले ४० वर्षीय रोबर्ट कार्डका लागि एउटा बुलेटिन जारी गर्दै सामूहिक गोलीबारीका संदिग्धलाई ‘सशस्त्र र खतरनाक मान्नु पर्छ’ भनेको छ । प्रहरीले एउटा सेतो एसयुभीको तस्बिर पनि जारी गरेको छ । प्रहरीले गाडीको अगाडिको बम्पर कालो रङको हुनसक्ने भन्दै गाडीको पहिचानका लागि सार्वजनिक सहयोगका लागि आग्रह गरेको छ । माइनका गभर्नर जेनेट मिल्सले लेविस्टनमा सक्रिय बन्दुकधारीको स्थितिबारे आफू अवगत भएको र यसको जानकारी आफूलाई दिइएको बताएका छन् । कानून प्रशासनलाई उद्धृत गर्दै सीएनएनले घटनामा कम्तीमा ५० देखि ६० मानिस घाइते भएको तर गोलीबारीबाट कति मानिस घाइते भएका हुन् भन्नेबारे स्पष्ट नभएको बताएको छ । लेविस्टन माइनको दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो । यो माइनको सबैभन्दा ठूलो सहर पोर्टल्यान्डबाट करिब ५० किलोमिटर उत्तरमा पर्छ ।