काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
हाल कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि उनले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने उदघोष पनि गरे । उनले भने,‘यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका नेपालीहरुको भावना विभाजित भएको र काम भन्दा कुरा बढी गर्नेहरुको हाबी भइरहेकाले भावनात्मक र परिणामूखी काम गर्न मेरो नेतृत्व आवश्यक छ ।’
अध्यक्षमा उम्मेदवारीका लागि श्रेष्ठको प्रस्तावकमा स्वीजरल्याण्डका गुणराज शर्मा र साउदी अरबका दिपक रेग्मी रहेका छन् भने समर्थकमा नेदरल्याण्डका मीन पूर्जा र माल्टाका रेमलाल खनाल रहेका छन् ।
एनआरएनए रुपान्तरणका लागि पाँच बुँदे प्रतिबद्धतासहित अध्यक्षको उम्मेदवारी दिएका श्रेष्ठले असन्तुष्ट रहेको शेष घले समूहलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
प्रतिक्रिया