काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको १८ सदस्यीय टोलीमा, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सुर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन् । राजवंशी टोलीमा फर्किएका छन् । उनी यसअघि घाइते थिए । १९ औं एसिया गेम्सको अभ्यासका क्रममा घाइते भएका उनकोे दाहिने कलर बोनको असोज ४ गते शल्यक्रिया भएको थियो । यस्तै लोकेश बम र सूर्य तामाङले पनि टिममा पुनरागमन गरेका छन् ।
सन्दीप लामिछाने भने टोलीमा समावेश छैनन् । अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए । बुधबारदेखि सुरू हुने शृंखलामा यूएई र हङकङ पनि छन् । प्रतियोगिता विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको हो । नेपालले पहिलो खेल कात्तिक १ गते यूएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ ।
कात्तिक ४ गते फूलपातीका दिन नेपाल हङकङबीचको दोस्रो खेल हुनेछ भने कात्तिक ६ गते नवमीका दिन यूएई र नेपालको खेल हुनेछ । फाइनल खेल भने १० गते हुनेछ ।
प्रतिक्रिया