देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थकित सन्दीप

देशान्तर


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने अदालतमा विचाराधीन मुद्दाका कारण तनावमा परेका छन् । २०७४ सालमा इन्डियन प्रिमियर लिग आईपीएल खेलेपछि पछाडि फर्कन नपरेका सन्दीप अहिले भने बलात्कारको आरोप लागेपछि थकित बनेका हुन् । काठमाडौं जिल्ला अदालतबाट पुपक्षको थुनामा पठाइएका सन्दीप सर्वोच्च अदालतको आदेशपछि रिहामात्रै भएनन् कि देशविदेशमा नेपालले खेल्ने प्रतियोगितामा सहभागिता जनाए । काठमाडौं जिल्ला अदालतले अन्तिम बहस सुरु गर्नै नसक्दा पटकपटक पेसी सर्ने अहिले सन्दीपको नियति नै भएको छ । जसले गर्दा उनी नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा समयमै खेलाडीहरूसँगै जान पाइरहका छैनन् भने त्यसको असर खेलमा पनि पर्न थालिसकेको छ ।

गत वर्षको भदौ २१ गते गौशाला २६ ले आरोप लगाएपछि लगातार मुद्दा झेलिरहेका सन्दीप सर्वोच्चको आदेशपछि आईसीसी विश्वकप लिग टुमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी सिरिज नै भएका थिए । तर त्यसपछिका खेलहरू उनका बिर्सनलायक हुन थालेका छन् । अब नेपालले सन् २०२४ मा हुने आईसीसी विश्वकप टी २० क्रिकेटको एसिया छनोट खेल्दै छ । उक्त प्रतियोगिताका लागि नेपाली टोलीले काठमाडौंमा हङकङ र यूएईसँग त्रिकोणात्मक टी २० सिरिज खेल्दै गर्दा नेपाली खेलाडी सन्दीपले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । उनले अहिले आफू तनावमा रहेको र परिवारलाई समय दिनका लागि नाम फिर्ता लिएको बताए पनि भित्री कारण अदालतमा पटकपटक सर्दै आएको पेसीले उनी आजित भएको र उनमा मनोवैज्ञानिक टर्चर बढेको सन्दीप निकट व्यक्तिहरूले बताउने गरेका छन् । उनले यस पटक प्रतियोगिता खेल्दैन भन्नुको कुरालाई अदालतमा विचाराधीन मुद्दाको फैसला चाँडो गराउनका लागि दबाब दिएको रूपमा केही महिला अधिकारकर्मीले अर्थ भने लगाएका छन् ।