काठमाडौं । इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले यू–१९ एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । वाईएसडी (यूकेएम क्रिकेट ओभल) बाङ्गीमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा ३५३ को विशाल योगफल खडा गर्यो ।
नेपालले प्रस्तुत गरेको ३ सय ५४ रनको बिशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव ५ ओभरमा ७९ रनमा अलआउट भयो ।
घातक बलिङ गरेका दीपेश कँडेलले ७ ओभरमा ४ रन खर्चिएर ३ विकेट लिए भने सुबास भण्डारीले पनि समान ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले समान २ विकेट लिए । सुरुआती ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुँदै ३ सय ५३ रन बनाएको थियो ।
कप्तान खनालले ६० बलमा शतक प्रहार गर्दै नेपाललाई शानदार सुरुआत दिलाएका थिए । दिपक प्रसाद डुम्रेले ६९ रन बनाएको इनिङ्समा ओपनर दिपक बोहराले ६५ रन बनाए । दिपेश कँडेलले २९, हेमन्त धामीले २३ तथा सुबास भण्डारीले १८ रन बनाएका थिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने निकै खराब थियो । ओपनर अर्जुन कुमाल शून्य र तेस्रो नम्बरमा आएका आकाश त्रिपाठी ३ रनमा आउट हुँदा नेपालको स्कोर १०÷१ थियो ।
इरानका सलमान नियाजमन्द र दादरहमान रायसीले समान ३ विकेट लिए । जैद रायसी र समान शेखीले समान दुई विकेट हात पारे ।
समूह एमा रहेको नेपालले अब दोश्रो खेल बहराइन र साउदी अरबसँग खेल्नेछ । नेपालका कप्तान खनाल म्यान अफ दि म्याच भए ।
प्रतिक्रिया