देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति

देशान्तर


काठमाडौं । जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ ।
किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भएको छ । युद्धका कारण करिब एक लाख ६७ हजार दुई सय निजी घर, अपार्टमेन्ट भवन र छात्रावासहरू नष्ट वा क्षतिग्रस्त भएका छन्
त्यसैगरी दुई मुलुकबीच द्वन्द्व सुरु भएयता युक्रेनमा १८ वटा विमानस्थल र सिभिल एयरफिल्डका साथै तीन सय ४४ पुल र ओभरपास क्षतिग्रस्त भएका छन् भने कम्तीमा चार सय २६ ठूला र मध्यम आकारका उद्यमहरू प्रभावित भएका छन् ।

यसैबीच पश्चिमी प्रतिबद्धता केही कमजोर भएको बेला युक्रेनको पक्षमा उभिन जोड दिन बिहीबार दक्षिणी स्पेनको ग्रानाडामा युरोपेली युनियनका करिब ५० नेताहरू भेला हुँदैछन् । युरोपेली राजनीतिक सामुदायिक मञ्चको बैठकमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुने छन् । उक्त मञ्च सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसले गरेको आक्रमणको परिप्रेक्ष्यमा गठन भएको थियो । उक्त आक्रमणसँगै युरोपको राजनीतिक एजेन्डालाई धेरै हदमा फरकरूपमा स्थापित गर्यो र यस महादेशमा शान्ति र स्थायित्वमा लामो समयदेखि कायम विश्वासलाई मूलभूतरूपमा कमजोर बनायो ।

राजनीतिक, आर्थिक र सैन्य सहयोगका बावजुद युक्रेनी क्षेत्रमा रुसी आक्रमणबाट मुक्त बनाउने दिशामा गतिरोध कायमै छ । यद्यपि ग्रानाडामा युरोपेली नेताहरू युक्रेनको पक्षमा एकजुट भएको कुरामा जोड दिन इच्छुक छन् । 
बिहीबार जेलेन्स्की ग्रानाडामा आइपुग्दा युरोपेली नेताहरूले यस्तो सन्देश दिनेछन् । यसै वर्षको सुरुमा जेलेन्स्की मल्दोभामा भएको इपीसीको दोस्रो बैठकमा पनि उपस्थित भएका थिए । जेलेन्स्कीले सबै सहयोगीहरूलाई थप सहयोग र सैन्य सहायता उपलब्ध गराउन अगाडि आउन आग्रह गर्ने अपेक्षा गरिएको छ ।