काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न अपिल गरेको छ । आयोगले बुधवार विज्ञप्तिमार्फत यस्तो अपिल गरेको हो ।
आयोगले नेपालगन्जमा झडप हुँदा ५ जना सुरक्षाकर्मीसहित २२ जना व्यक्ति घाइते भएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘केही दिनअघि सामाजिक सञ्जालमा भएका टिप्पणी र प्रतिक्रियाको विषयलाई लिएर असोज १४ गते मुस्लिम समुदायबाट जिल्ला प्रशासन कार्यालय परिसरमा टायर बालेर प्रदर्शन गरिएको, यसको विरोधमा ओमकार समाज र शिव सेनासहितका केही हिन्दु समर्थकहरूले असोज १६ गते नेपालगन्ज उपमहानगरपालिका बन्दको आह्वान गर्दै बिहान १० बजेदेखि प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक भएकोमा जिल्ला प्रशासन कार्यालय बाँकेमा असामान्य अवस्थालाई सम्बोधन गर्नका लागि असोज १५ गते सर्वदलीय बैठक बसेको आयोगको अनुगमनको क्रममा पाइएको छ’, आयोगले भनेको छ ।
आयोगले नेपालको संविधानको प्रस्तावनामा नेपाल बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने उल्लेख गरिएको स्मरण गराएको छ ।
प्रतिक्रिया