देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियताको मुद्दामा सबै एकढिक्का हुन जरुरी छ : एमाले अध्यक्ष ओली

देशान्तर


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई मजबुद तुल्याउन राष्ट्रिय मुद्दामा सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी बोल्दै उनले देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । मित्रराष्ट्र मुलुकहरुसँगको सम्बन्धलाई सुमधुर तुल्याई, कुटनीतिक सम्बन्धलाई बलियो र थप प्रगाढ तुल्याउन लागिपर्ने उल्लेख गर्दै उहाँले परराष्ट्र नीतिमा एक दृष्टिकोण बनाई नेपालको स्वाभिमान र गरिमा बढाउन सबै लाग्नुपर्ने खाँचो औंल्याए । एमाले अध्यक्ष ओलीले आम जनतामा राजनीतिक दल, प्रणाली, संविधानप्रतिको विश्वास अभिवृद्धि गर्दै अहिलेसम्मका राजनीतिक उपलब्धी संस्थागत गर्न र विकास निर्माणलाई प्रभावकारी बनाउन आग्रह गरे ।

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई रिहा गरिएको, कैदीबन्दीलाई आममाफी दिइएको र सुनकाण्डका आरोपीलाई छाडिएको भन्दै आपत्ति प्रकट गरे । उनले सुशासन सरकारको नियमित काम भएकाले यसलाई निरन्तरता दिएर शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने धारणा राखे । सुशासनको अभियानमा प्रतिपक्षले विरोध गरेको भनी आरोप लाग्नेगरेको उनले उल्लेख गरे । एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सभामा देखिएका गतिविधि संविधानको भावना अनुरुप नभएको जिकिर गरे । कानुनी राज्य र विधिको शासन स्थापित गर्न सबै गम्भीर हुनुपर्नेमा जोडदिर्दै उनले प्रतिपक्षले उठाएका कतिपय विषयलाई मजाकको रुपमा लिने गरिएको गुनासो गर्दै संसदलाई प्रभावकारी बनाउन आग्रह गरे ।

संसद बैठक लामो समय सञ्चालन नभएकोमा पनि अध्यक्ष ओलीले टिप्पणी गर्दै संसदलाई विजनेस दिएर प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले न्यायलयलाई स्वतन्त्र, मर्यादित र विश्वासयोग्य बनाइनुपर्ने खाँचो औंल्याए ।

ओलीले सत्ता गठबन्धन न्यायपालिकालाई आफ्नो विभाग बनाउन उद्यत रहेको आरोप लगाउँदै पछिल्लो न्यायाधीश नियुक्तिलगायतका विषय संवैधानिक दुर्घटनाको कारक बन्नसक्ने चेतावनी दिएका छन् ।

उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको नियुक्ति तथा अदलबदलका साथै न्यायाधीशहरुको वरियतासम्बन्धी नियमावली संशोधन विवादतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले यसलाई सामान्य रुपमा लिन नसकिने बताएका हुन् ।

ओलीले सरकारलाई अर्को क्याबिनेटबाट जनयुद्ध दिवसको बिदा फिर्ता लिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै अर्को क्याबिनेटबाट फिर्ता नलिए आफूहरुले कदम चाल्ने चेतावनी दिए ।ओलीले परीक्षामा फेल भएकालाई न्यायाधीश नियुक्ति गरेर गठबन्धन सरकारले संविधानमाथि नै हस्तक्षेप गरेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर सम्बोधन गर्दै वर्तमान सरकार जति समय राख्यो त्यति नै देशलाई बोझ बढ्ने बताए । उनले देशमा सञ्चालिन परियोजना समेत सञ्चालन गर्न नसक्ने सरकारले संविधान र व्यवस्थाको रक्षामा पनि असफल भएको भन्दै सरकारको विकल्प खोज्नका लागि आह्वान गरेका हुन् ।