देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय

देशान्तर


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ ।

महासङ्घको तेस्रो कार्यसमितिको बागलुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा आज बसेको बैठकले सो निर्णय गरेको हो । प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासङ्घको तेस्रो बैठक आज ढोरपाटनमा आयोजना गरिएको थियो ।

उक्त बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान गराउन देशका सबै प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । त्यसैगरी सो बैठकले सन् २०२५ लाई देशका समग्र निजी क्षेत्रले पर्यटन वर्षका रुपमा मानउने निर्णय पनि गरेको छ ।

पर्यटन वर्ष मनाउनेसम्बन्धी प्रचारप्रसार आजैदेखि सुरु गर्ने र यससम्बन्धी पत्राचार महासङ्घका देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घमार्फत गर्ने निर्णय भएको छ । अध्यक्ष ढकालको गृह जिल्लामा आयोजना गरिएको सो बैठकले मुलुकमा व्याप्त आर्थिक सङ्कट घटाउँदै तरलता बढाउन असोज मसान्तभित्रै राजनीतिक तथा सरोकारवाला निकायबीच छलफल गर्न एक उच्चस्तरीय तथा सर्वपक्षीय सम्मेलन गर्ने पनि निर्णय गरेको छ ।

अध्यक्ष ढकालले महासङ्घ एवं नेपाल सरकारलेसमेत वैदेशिक लगानीका लागि आग्रह गरिरहेको वर्तमान अवस्थामा देशभित्रै लगानीको वातावरण निर्माण गरी आर्थिक चलायनमान बनाउनका लागि लगानी सम्मेलन गर्ने निर्णय भएको बताए । त्यसैगरी पर्यटकीय क्षेत्र ढोरपाटनको पनि प्रचारप्रसार र आवश्यक प्रवद्र्धन गर्नका लागि मुलुकका समग्र उद्योगी, व्यवसायीहरुको छाता संस्था महासङ्घले बागलुङको ढोरपाटनमा बैठक आयोजना गरेको अध्यक्ष ढकालले जानकारी दिए । बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा ढोरपाटनमा बैठक आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटन अवलोकन गर्दा पर्यटनको विकासमा सहयोग पुग्ने उहाँको विचार छ । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बन्नसक्ने अपेक्षा स्थानीयको रहेको पनि अध्यक्ष कँडेलले बताए ।

यो सिकार आरक्ष तथा प्रमुख पर्यटकीय क्षेत्र त हो नै यहाँको आलु पनि पश्चिमको बजारमा लोकप्रिय छ । यहाँ आलु र स्याउको प्रचुर सम्भावना रहेको छ । बैठकपश्चात् महासङ्घको कार्यसमितिमा रहेका सदस्य एवं पदाधिकारीहरुले ढोरपाटन क्षेत्रको अध्ययन, स्थलगत अवलोकन र सिकार आरक्ष कार्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सिकार खेल्नका लागि विदेशी पर्यटकमात्र आउने गरेको ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरु पनि बढेका छन् । तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटल नहुँदा भने पर्यटकलाई समस्या भइरहेको छ । रासस