काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो ।
पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने जनाएको छ । आजै नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक मन्त्रीले जानकारी दिएका छन् ।
नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएके निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो । तर चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।
यसैबीच सरकारले सुन तस्करीको विषयमा छानबिन गरी सुझाव सहितको प्रतिवेदन बुझाउने गरी ४ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गृह मन्त्रालयको प्रस्तावमा उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
आचार्य संयोजकत्वको चार सदस्यीय टोलीमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको जाँचबुझ आयोग गठन गरेको जानकारी दिइन् ।
प्रतिक्रिया