काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत टी–२० आई पुरुष क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपाल १३८ रनले विजयी भएको छ। नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रन बनाएर अलआउट भयो। माल्दिभ्सका लागि मुअविथ गनीले ३६ रन बनाए। यस्तै रासि रासमले १२ तथा फारीद श्यूसले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि जोड्न सकेनन्।
जीत संगै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेपाल अन्तिम ८ मा प्रवेश गरेको हो । नेपालका अभिनाष बोहराले सर्वाधिक ६ विकेट हात पारे । सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट हात पारे ।
सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । कप्तान रोहित पौडेलले ५२ रन बनाएको इनिङ्समा कुशल मल्लले नटआउट ४७ रन बनाएका थिए । गुल्सन झा र कुशल भुर्तेलले समान ३५ रन बनाएका थिए । आरिफ शेख ६ रनमा आउट हुदाँ सन्दीप जोराले ५, दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए । सोमपाल एक रनमा अविजित रहे ।माल्दिभ्सका नजवान इस्माइलले सर्वाधिक ३ विकेट लिए । पहिलो खेलमा मंगोलियाविरुद्ध कीर्तिमानी जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा शानदार जित सहित अन्तिम ८ को यात्रा तय गरेको छ ।
प्रतिक्रिया