काठमाडौं । १४औं महाधिवेशनका बेला कुनै पनि नीतिगत छलफल नगरेको नेपाली कांग्रेसले दुई वर्षपछि बल्ल नीतिको विषयमा चासो दिएको छ । आन्तरिक गुटबन्दी र खिचातानीका कारण नियमित बैठकसमेत बस्न नसकेको नेपाली कांग्रेसले साउनमा बसेको बैठकबाट महासमितिको बैठक गर्ने निर्णय गरेको थियो । मंसिरका लागि तय गरिएको महासमिति बैठकका लागि विभिन्न समिति पनि गठन गरिसकेको छ । मिनी महाधिवेशन जस्तै हुने भएकाले त्यहाँबाट नेपाली कांग्रेसले लिने समग्र नीतिको अपेक्षा गरिएको छ । अहिलेको अवस्थामा कम्युनिस्ट विचार राख्ने दलहरूसँग मिलेको, नयाँ चुनौती सामना गर्ने सामथ्र्य नरहेको जस्ता आरोप खेप्दै आएको नेपाली काग्रेसले महासमितिको बैठबाट यसलाई चिने कांग्रेसकै नेताहरू बताउँछन् । पछिल्ला दुई वटा प्रत्यक्ष प्रसारण भएका नेपाली कांग्रेसका बैठकका बारेमा जनताले पनि थाहा पाएपछि अब नीतिको खोजी गर्न थालेका थिए । सोही कुरालाई बुझेर नियमित बैठक बस्न थालेको कांग्रेसले अब महासमितिको बैठक बोलाएर नीतिका बारेमै स्पष्ट धारणा बनाउन लागेको हो ।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन गरिएको छ । यसैगरी महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय भएको छ । नीति महाधिवेशनको काम पनि यही महासमिति बैठकले गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ । महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी हुनेछन् ।
महासमिति बैठकमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने गर्दछ । महासमिति बैठकले राजनीतिक र पार्टीको कार्यदिशासमेत तय गर्ने भएकाले अबको कांग्रेस कस्तो हुने भन्ने पनि महासमितिले टुंगो लगाउनेछ । पछिल्लो समय कांग्रेसको बैचारिक धार कमजोर बन्दै गएको गठबन्धनलाई प्रधान मान्ने गरेकोले कार्यकर्ता पंक्तिमा निराशा छाएको भन्दै कांग्रेसको विरोध भइरहेको छ । महासमिति बैठकले यसबारे प्रष्ट विचार बनाउने अपेक्षा गरिएको छ । कांग्रेस महामन्त्री गगन थापाले टालटुले समाधानले कांग्रेस बलियो नहुने भन्दै आगामी दिनमा चुनाव अघिको गठबन्धनको संस्कृतिलाई छोड्नु पर्ने बताउँदै आएका छन् । कांग्रेसको रूपान्तरणका लागि भनेर तेस्रो तहका नेताहरूले रूपान्तरण अभियानसमेत चलाएका छन् । यस पटकको महासमितिको बैठकले कांग्रेसको आगामी प्रस्ट मार्गचित्र कोर्ने युवा पुस्ताका कांग्रेसहरूको अपेक्षा छ ।
प्रतिक्रिया