काठमाडौं । चीनको ह्वानझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगितामा नेपालको पदक सम्भावना निकै कमजोर बनेको छ । पदक तालिकामा आयोजक राष्ट्र चीन धेरै नै अगाडि छ । नेपालले २९ वटा खेलमा सहभागिता जनाए पनि पदक जित्न भने लगभग असफल भइसकेको छ । अक्टोबर ८ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पदक आशा गरेका खेलबाटै खाली हात फर्किएको छ । मार्सल आटर््समा नेपालले पदको आशा गरे पनि खेलाडीहरू दोस्रो चरणभन्दा माथिको यात्रा तय गर्न असफल रहे । नेपाली खेलकुदको लगानीअनुसारको प्रतिफल भनेर चित्त बझुाए पनि १९औं एसियाली खेलकुद पदाधिकारीहरूलाई मस्ती गर्ने थलोको रूपमा मात्रै रहेको छ । २९ वटा खेलमा प्रतिस्पर्धा गर्नका लागि नेपाली खेलाडीहरू चीन पुग्दा राखेपले ती खेलसँग सरोकार नै नराख्ने खेलका व्यक्ति र पदाधिकारीलाई सयर गर्नका लागि काज र भत्तामात्रै उपलब्ध गराएको चर्चा भइरहेको छ । तेक्वान्दोको दीपक विष्ट, कराँतेका दीपक श्रेष्ठ, कर्मचारी संघकै अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतहरूले राम्रोसँग १९औं एसियाली खेलकुदको नाउँमा तर मारेर बसेका छन् । अहिले उनीहरूका विरुद्ध समाचार आएपछि चीनबाटै पत्रकार र सञ्चारमाध्यमलाई गाली गर्ने काम पनि गर्दै आएका छन् । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, सदस्यसचिव टंकलाल घिसिङसहितको जम्बो सरकारी टोली अहिले खेलाडीको खेलस्थलभन्दा पनि आफ्ना अन्य काम र घुमफिरमै व्यस्त भएको बुझिएको छ ।
पछिल्लो समय कराँते महासंघका अध्यक्ष तथा राखेपका पूर्वसदस्यसचिव युवराज लामाबीच सामाजिक सञ्जालमा ‘वाकयुद्ध’ नै चलेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कराँते प्रशिक्षक श्रेष्ठ १९औं एसियाली खेलकुदमा उसुको टिम म्यानेजर भएर गएका हुन् । यस विषयमा समाचार प्रकाशित भएपछि पूर्वसदस्यसचिव लामाले सामाजिक सञ्जालबाटै विरोध गरेका थिए । त्यसको जवाफमा श्रेष्ठले कराँतेकै टिम अफिसियलको कार्ड सार्वजनिक गर्दै लामाप्रति आक्रोश व्यक्त गरेका छन् । लामाले श्रेष्ठको कराँतेको कार्ड सार्वजनिक हुनलाई नै दुर्भाग्य भन्दै यस विषयमा आफूहरूलाई थाहा नभएको बताएका छन् । श्रेष्ठ अहिले कराँतेबाट निलम्बनको अवस्थामा पनि रहेको र उनैले कराँतेको कार्ड सार्वजनिक गर्ने अनि राखेपको लिस्टमा उसुको म्यानेजर भएको सार्वजनिक भएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
प्रतिक्रिया