गठवन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमण सफल होला भन्ने लागेको रहेनछ, झन् बेजिङमा गार्ड अफ अनर देलान् भन्ने त उनले सोचेकै थिएनन् रे । उनलाई आफू सक्कली माओवादी नभएको र भारतको कर–बलमा माओवादी बन्नुपरेको यथार्थ चीनले राम्रोसंग बुझेकाले यस पटक पनि चीनले प्रधानमन्त्रीको सम्मान दिंदैन भन्ने उनलाई लगभग निश्चित नै रहेछ । गार्ड अफ अनर दिएको र पुराना सहमतिका आधारमा सम्झौताका लागि प्रक्रिया पूरा भएका एक दर्जन सम्झौतामा औपचारिकता पूरा गर्नु बाहेक नयाँ कुनै सहमति, सन्धि र सम्झौतामा भएन, हस्ताक्षर हुने त सवालै उठेन । तैपनि प्रचण्डजी डुग्रिन्छन्– उनको चीन भ्रमण अपेक्षा गरेभन्दा सफल भयो ।
जसको खल्तीमा खोटो मोहोर हुन्छ, उसको मन धरमरमा परिरहन्छ । त्यो पुरानो उखान उनलाई कण्ठ हुनु अस्वभाविक होइन । १२ बुँदे दिल्ली सम्झौताले बनाइदिएको “शेर”को हालत २०७९ सालको चुनावसम्म आइपुग्दा मुसामा परिणत भइसकेको वास्तविकतालाई अरुले बिर्से पनि उनले भूल्न सक्ने कुरा थिएन । त्यसमाथि नेपाली कांग्रेससंग गठवन्धन गरेर बल्लतल्ल ३२ सिट सांसद जिताउन सफल भएको र कांग्रेस र एमालेको घच्चा–घच्चीको अवसर छोपेर गठवन्धनका प्रधानमन्त्री भएका उनलाई चीनले “यत्रा जेठाजुको कत्रो मान, उठ जेठाजु कुट धान” भनेर बेइज्जत गरिनहाले पनि इज्जत पनि गर्ने छैन भन्ने उनका मनमा लागेको कुरा पत्रकारसंग नलुकाई भनेको यथार्थलाई गोरखापत्रले बडो गर्वसाथ अघिल्लो पृष्ठमै छापेको छ ।
पहिले प्याच्च बोल्ने, अनि पछि ज्या भनेर पछुताउने दाहाल बाजेको पुरानै रोग हो । चीनका सन्दर्भमा मात्र होइन, अमेरिकामा पनि सेचेभन्दा बढी उपलब्धी भयो भने । कुरो बुझ्दै जाँदा के प्रमाणित भयो भने उनले अमेरिकामा उपलब्धी हासिल गरेको भनेको त छोरीका साथमा राष्ट्रपति जो वाईडेनसंग उनले खिचाएको तस्वीर पो रहेछ । त्योभन्दा बढी अथवा घटि केही भएको होइन, तैपनि उनले लाजै नमानि भने– अमेरिकामा पनि सोचेभन्दा बढी उपलब्धी भयो ।
सन् १९३९ सेप्टेम्वर ३ तारीख अर्थात् बिसं १९९६ भाद्र १५ गते जर्मनीले पोल्याण्डमाथि आक्रमण ग¥यो । बेलायत र फ्रान्सले जर्मनीका विरुद्ध युद्धको घोषणा गरे । त्यसरी दोश्रो विश्वयुद्ध शुरु भयो । बेलायत सरकारले नेपालसंग सहायता माग्नु अगावै प्रधानमन्त्री जुद्धशम्शेरले एकतर्फी रुपमा ८००० आठ हजार सैनिक सहायता प्रदान गर्ने घोषणा मात्र गरेनन्, तत्कालै भारत प्रस्थान पनि गराए– आफ्ना जेठा छोरा जनरल बहादुरशम्शेरको कमाण्डमा ।
बेलायतलाई त्यसरी हतारिएर नेपालले सहयोग प्रदान गर्नुको कारण जर्मनीले जितेमा अधिनायकवादी शक्ति विश्वव्यापी हुन्छ भन्ने डरले होइन, बेलायत हारेका खण्डमा उसको समर्थनमा टिकेको नेपालको राणा शासन पनि डुब्छ भनेर हो भन्ने उत्ति बेलाका सीमित बुद्धिजीवीहरुको सोच थियो । त्यसैले उनीहरु जर्मनीका हिटलरले लडाई जितुन् र बेलायत हारोस् भन्ने चाहने मात्र होइन, प्रार्थना नै गर्थे । नेपालमा हिटलरको क्रेज कति बढेको थियो भने उनलाई भक्तपुरका हितलाल नै जर्मनी पुगेर हिटलर बनेका हुन् भन्ने बकमफुसे गफ पनि पत्याउन थालेका थिए– एकताका प्रचण्ड साँच्चैको माओवादी हो भन्ने भ्रम फैलिएजस्तै गरेर । जसरी हितलाल हिटलर थिएनन्, त्यसैगरि प्रचण्ड पनि माओवादी र क्रान्तिकारी थिएनन्, अनि, चीनले उनलाई पत्याउँछ र सम्मान गर्छ भन्ने कुरा कसरी पत्याउन् ? त्यसका लागि हेर्नोस्, सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपाल, भाग २ र ३ । त्यसपछि चाल पाइन्छ, नपत्याउने खोलाले कसरी बगाउँदो रहेछ भनेर ।
एक जमाना थियो, नेपाल विशेषज्ञका रुपमा भारत सरकारबाट मान्यता प्राप्त विद्वान प्रोफेसर एसडी मुनीले नेपालका माओवादीलाई नेपालमा परिवर्तनकारी शक्ति भनेर प्रशंसा गर्ने गर्थे । त्यस बेला संसदीय राज्यव्यवस्थालाई प्रतिक्रियावादी घोषित गरेर कथित् जनयुद्धका माध्यमबाट त्यसलाई ध्वस्त पार्ने र त्यही ध्वंसमा नयाँ जनवाद स्थापना गर्न लडेका र भारत आफैंले आतंककारी घोषित गरेका माओवादी र संसदवादी सात दललाई मिलाएर १२ बुँदे दिल्ली सम्झौता गराउने ग्य्राण्ड डिजाइनलाई कार्यान्वयन गर्ने संयन्त्रका एक पात्र, उनी अहिले आफैं भन्न थालेका छन्– प्रचण्ड भनेका कम्युनिष्ट होइनन्, कर्मकाण्डी बाहुन् मात्र हुन् । त्यसैले केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम आदि सबै बाहुन भएकाले जति पटक सत्तामा पुगे पनि माखो मारेनन् । जनताको जीवनमा परिवर्तन ल्याउने कुनै काम गरेनन् । गर्ने लक्षण पनि देखाएनन् । उनीहरुका धर्मगुरु मुनीले आफ्नो मोहभंग त्यसरी प्रकट गरेर भविष्यमा नेपालका कम्युनिष्टप्रति भारत सरकारको धारणा कस्तो हुनेछ, त्यसको झलक देखाउने काम गरेका हुन् ।
हिटलर, हितलाल थिएनन् । त्यसैले युद्ध जितोस् भन्ने कामना सफल भएन । प्रचण्ड पनि सक्कली माओवादी होइनन्, कसले बनाएका हुन्, त्यो पनि चिनेका चिनियाँहरुले निम्ता मागेर आएका पाहुनाको सोचेभन्दा बढी खातिरदारी गरे, त्यही देखेर प्रचण्डलाई आश्चर्यचकित भएका हुन् । त्योभन्दा बढी केही होइन ।
प्रतिक्रिया