देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंकमा थुप्रियो पैसा

देशान्तर


काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) निरन्तर बढ्दो छ । नयाँ कर्जा माग नभएको, रेमिट्यान्स वृद्धिलगायत कारण वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढिरहेको हो । बैंकिङ प्रणालीमा कर्जाको माग चाहेजस्तो नहुँदा बैंकहरू अधिक तरलताका अवस्थामा पुगेका छन् । त्यसले गर्दा बैंकहरूको अन्तर बैंक ब्याजदर घट्दै गएको छ । चालू आर्थिक बर्ष लागेदेखि हालसम्ममा अन्तर बैंक ब्याजदर ३.३७ प्रतिशतले घटेर असोज ९ मा बैंकिङ प्रणालीको औसत अन्तर बैंक ब्याजदर २.५४ प्रतिशत कायम भएको राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । गत साउनमा यस्तो ब्याजदर ५.९१ प्रतिशतको बिन्दुमा थियो ।
नेपाल राष्ट्र बैंकको असोज ९ गतेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५६ खर्ब ४२ अर्ब ३५ करोड पुग्दा कर्जा लगानी ४८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ । चालू आर्थिक वर्ष लागेयता निक्षेपको तुलनामा कर्जामा वृद्धि उच्च भएता पनि असोजमा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था आएको देखिन्छ । २०८० साउन मसान्तमा ५५ खर्ब ७६ अर्ब ८ करोड रहेको बैंकहरूको कुल निक्षेप असोज ९ गतेसम्म आउँदा ६६ अर्ब २७ कराडले वृद्धि भएर ५६ खर्ब ४२ अर्ब ३५ करोड पुगेको हो ।
सोही अवधिमा कर्जा लगानी भने ९० अर्ब ७२ करोडले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालू आर्थिक बर्षको सुरुको महिनाको मसान्तमा ४७ खर्ब ९२ अर्ब ५ करोड रहेको कुल कर्जा लगानी असोज ९ गतेसम्म्म आइपुग्दा ४८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपको तुलनामा कर्जा लगानी बढी हुँदा पनि बैंकिङ प्रणालीमा तरलता सहज देखिएको छ ।
कर्जा बढेको अवस्थामा तरलताको स्रोतहरूबाट आउने रकम अलि बढी भयो भने यस्तो अवस्था आउने राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले बताए । उनले भने, ‘अर्को भनेको पहिला लोकल लेबलको छुट्टै हेर्ने गरिन्थ्यो अहिले पछिल्ला समय लोकल लेबलको स्थानीय सरकारको निक्षेप पनि करिब ६५ अर्ब केन्द्रमा नै आयो, रेमिट्यान्स प्रवाह बढिरहेको छ । जसले गर्दा आयातमा कमी नै भइरहेको छ ।
अहिलेको अवस्थामा भुक्तानी सन्तुलन पनि सकारात्मक रूपमा गइरहेको छ । जसले गर्दा तरलतामा सहजता भएको उनले बताए । उनले भने, ‘यसमा कर्जा प्रवाहबाट बढ्ने र घट्ने भनेको दुई किसिमका हुन्छन् । आयातको लागि कर्जा प्रवाह भयो सामानहरू बढी मात्रामा आए भने कर्जा प्रवाह भए पनि तरलता घट्छ । तर, कर्जा प्रवाह आन्तरिक गतिविधिका लागि भयो भने तरलता त्यो अनुपातमा घट्दैन् । किनकि त्यो पैसा देशभित्रै घुमिरहन्छ । बाहिर आयातमा गयो भने फेरि तरलतामा कमी आउछ ।‘