देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसियाली खेलकुदमा पब्जि टिम सेमिफाइनलमा

देशान्तर

हाङझाव । एसियाडको इ स्पोर्टसको एलिटको रुपमा रहेको पब्जी मोबाइलमा नेपाली खेलाडीले शुक्रबार सुखद नतिजा निकालेका छन् ।

एलिमिनेसन राउन्डको समूह ‘सी’ मा नेपाली टोली उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । जारी एसियाडमा अहिलेसम्म पब्जी मात्र अन्तिम चारमा पुग्ने पहिलो नेपाली टोली हो । नेपालले सहभागिता जनाएको खेलमा हालसम्मको उपलिब्ध भनेको नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गर्नु हो । पब्लीले नेपाललाई पदकको आशा दिलाएको छ ।

पब्जीको अन्तिम चारमा पुगेका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराईले आफ्नो समूहमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गरेका थिए । समूह ‘सी’ मा हङकङ शीर्ष स्थानमा रह्यो । नेपालले प्यालेस्टाइन र साउदीलाई पछि पार्दै अर्को चरण स्थान पक्का गरेको हो । प्रतियोतिगामा वरीयताका आधारमा प्यालेस्टाइनले सिधै क्वाटरफाइनलमा स्थान बनाएको थियो । तर प्यालेस्टाइन अन्तिम आठ भन्दा अगाडि बढन सकेन ।

नेपाली खेलाडीले आफ्नो समूहमा सवै चुनौती पार गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो । समूह ‘डी’ मा तेस्रो भएको प्यालेस्टाइन र चौथो स्थानमा रहेको साउदी अरब बाहिरिएका छन् । अब नेपालले शनिबार सेमिफाइनल खेल्ने छ । सेमिफाइनलमा दोस्रो स्थान रक्षा गरे नेपाल फाइनलमा पुग्ने छ । फाइनलमा पुगे पनि नेपालको पदक निश्चित हुने छैन । स्वर्ण पदकको भिडन्तमा चार टोलीबीच प्रतिस्पर्धा हुने छ । जसमा शीर्ष तीन भित्र रहे मात्र पदक जित्ने छ । यस कारण नेपालले पदक सुरक्षित गर्न कम्तीमा तेस्रो स्थान प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताको शुक्रबार समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड अन्तिम चारमा पुगेका छन् । समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेईले अन्तिम चार स्थान पक्का गरे । समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् । नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेका हुन् । अब चार समूहबाट आएका शीर्ष दुई–दुई गरी आठ टोलीलाई दुई समूहमा सेमिफाइनल खेलाइने छ । सेमिफाइनलका दुवै समूहमा चार–चार टोली हुनेछन् । समूहका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

सेमिफाइनलमा दुवै समूहको खेल शनिबार हुनेछ । यद्यपि समूह विभाजन भने भइसकेको छैन । सेमिफाइनलमा शीर्ष दुई स्थान हासिल गरे नेपाल फाइनल पुग्दै पदक नजिक पुग्ने छ । नेपाली टोलीका कप्तान सुविन महर्जनले वरीयता पाएको राष्ट्रलाई हराउँदै अगाडि बढ्दा निकै खुसी लागेको बताए । उनले आफ्नो समूहका सवै सहभागी टोली बलियो भएको बताए । ‘हाम्रो टोलीमा सहभागी सवै राम्रा थिए, हामीले वरीयता प्राप्त प्यालेस्टाइनलाई पछि पार्न सफल भयौँ,’ उनले भने, ‘अर्को चरणमा निकै कठिन प्रतिद्वन्द्वी छन् ।’