काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्रा काठमाडौँ उपत्यकामा मंगलबारदेखि सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वजोत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो।
इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहदै आएको छ । जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । जात्रामा राष्ट्र प्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ ।
काठमाडौं महानगरपालिकाले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना विदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ । इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ । चिनियाँ टोली सोमबार बेलुका काठमाडौँ आइपुगेको हो ।
उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गरेका थिए ।
प्रतिक्रिया