काठमाडौं । नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । डिबक्स भन्दा निकै टाढाबाट प्रशान्तले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।
दोस्रो हाफमा ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ । समूह बीको विजेता टुङ्गो लगाउन सोमबार साँझनै भारत र भुटानबीच प्रतिस्पर्धा हुदैछ ।
प्रतिक्रिया