काठमाडौं । नेपाली खेलाडीहरूले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेको एसियन गेम्स र दक्षिण एसियाली खेलकुद प्रतियोगिता हो । प्रतिस्पर्धा गरेर ओलम्पिक खेल्ने हैसियतमा अझै नेपाल पुगिसकेको छैन । ओलम्पिकमा सीमित कोटामा वाइल्डकार्डमार्फत नेपाली खेलाडीहरूले मौका पाउँछन् । तर, एसियन गेम्समा भने नेपाल सरकारले जति आर्थिक रूपमा लगानी गर्छ अझ भनौं धेरैभन्दा धेरै खेलाडी पठाउने रणनीति नै बनाएको छ ।
यस्तोमा नेपालबाट यसपटक २९ खेलबाट खेलाडीहरू चीनको ह्वान्जाओमा जारी एसियन गेम्समा सहभागी भइरहेका छन् । अन्तर्राष्ट्रिय सहभागिताको चाँजोपाँजो मलाउने जिम्मा नेपाल ओलम्पिक कमिटीको हो भने त्यसका लागि समन्वयकर्ताको भूमिकामा नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेप रहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले सहभागिता जनाउँदा राखेपका कर्मचारी र्याल काढेर बसेका हुन्छन् ।
अहिले चीनको ह्वानजाउँमा जारी प्रतियोगितामा अन्तिम समयमा राखेपका कर्मचारीहरू भ्रमणमा जानका लागि खेल संघबाट पठाउने टिम म्यानेजरको कोटामा तर मारेर बसेका छन् । राखेपको जिम्मेवार पदमा बसेकाहरू नै अहिले विभिन्न खेलको टिम म्यानेजर बनेर जानु आफैंमा लाजमर्दो भएको छ ।
कर्मचारीहरूले सरकारी तलब पनि खाने अनि अवसर आउँदा खेल संघमा स्वयम्सेवकका रूपमा काम गरेका साथीहरूलाई टिम म्यानेजर बन्ने अवसर आउँदा कर्मचारीले यस्तो गर्नु सरासर गलत भएको सम्बन्धित खेल संघका पदाधिकारीले देशान्तरसँग गुनासो गरेका छन् ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङको सचिवालमाय रहेका फणीन्द्र पौडेल डान्स स्पोर्टसको टिम म्यानेजरका रूपमा चीन पुगेका छन् । यसैगरी राखेप कर्मचारी संघकी अध्यक्षसमेत रहेकी सरस्वती केसी पनि बाँस्केटबलको टिम म्यानेजर बनेकी छन् ।
राखेपको आर्थिक शाखाका डिल्लीराम काफ्ले कबड्डीको टिम म्यानेजर बन्दा तेक्वान्दोका प्रशिक्षक दीपक विष्ट भने चीन जानकै लागि गल्फको टिम म्यानेजर बनेका छन् । यसैगरी राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कराँते प्रशिक्षक दीपक श्रेष्ठ उसु खेलको म्यानेजर भएर गएपछि त्यसको नेपाल उसु महासंघले छानविनको माग गर्दै विज्ञप्ति प्रकाशित गरेको छ । उसु संघले उपाध्यक्ष नारायण गिरीलाई टिम म्यानेजर बनाएर पठाउँन लाग्दा अन्तिमसयमा श्रेष्ठलाई म्यानेजर बनाएर पठाइएको हो ।
यस्तै इन्जिनियर राजु श्रेष्ठ इस्पोर्टसको म्यानेजर बनेका छन् । एसियन गेम्सका लागि राखेपले भत्ता र काजका साथै घुमघाम हुने भएकाले खेल संघले पठाउने कोटामा कर्मचारीहरूले रज्याइँ गरेका हुन् ।
प्रतिक्रिया