काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको कार्यतालिका अवरुद्ध हुन नदिने निर्णय लिएको छ । बरिष्ठ नेता नेता डां शेखर कोइरालाले आज बोलाएको समूहको बैठकले वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकालेको हो । संस्थापन इतरका बरिष्ठ नेता कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकमा असोज ४ गतेदेखि बस्ने केन्द्रीय समितिका बैठकका एजेण्डाका बारेमा पनि छलफल भएको थियो ।बैठकमा सरकारको प्रभावकारीता कमजोर रहेको समिक्षा भएको थियो ।
बैठकमा महासमितिको बैठकबारे पनि छलफल भएको कांग्रेस केन्द्रिय सदस्य दीपक गिरीले जानकारी दिए । कोशी प्रदेश सरकारका बारेमा पनि छलफल भएको र अहिले जे भैरहेको छ त्यो न्यायसंगत नभएको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकमा उपसभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती गरेर समूहमा ल्याउन आवश्यक नभएको धारणा राखेका थिए । उनले समूहमा नयाँ मान्छे जोड्ने कुरासँग जिम्मेवारी दिने कुरामा पनि लड्नुपर्ने उनले बताए । कानुनमन्त्री समेत रहेका गुरुङले सरकारबारे ब्रिफिङ सुनाएका थिए । बैठकमा उनले पार्टी सभापति शेरबहादुर देउवाले काम कारबाहीमा हस्तक्षेप गरिरहेको सुनाएका थिए ।
बैठकले कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष पनि निकालेको छ । आफ्नै दलका नेताहरू समातिने डरको मनोविज्ञानका कारण भ्रष्टाचारविरुद्धको अभियान रोकिएको निष्कर्ष निकालेको हो ।
प्रतिक्रिया